म्याद गुज्रिएपछि बल्ल मल्हम

गृह मन्त्रालयबाट पठाइएको पत्र जिल्ला प्रशासन कार्यालय चितवनमा पुग्न महिनांै लाग्छ भने देशको कुन गति होला ? चेकजस्तो कुरा समयमै नपुग्दा रद्द भएको छ । प्रसंग, प्रचण्ड प्रधानमन्त्री हुँदा विभिन्न जिल्लाका केही गरिब, असहायलगायत बिरामी नागरिकलाई दिनू भनिएको रकमको हो ।

जेठ १९ गते नै निर्णय भएको थियो । पत्रिकामै कुरा आयो । तर, अहिलेसम्म रकम पाउन नसकेको चितवनवासीले बताए । साउन तेस्रो सातातिर जिल्ला प्रशासन कार्यालयमा गएर सोधखोज गर्दा पैसा नआएको बताइयो । गृह मन्त्रालयमा बुझ्दा रकम फ्रिज नहोस् भनी असारमै चेक काटेर पत्रसहित खामबन्दी गरी नासु रजनी तुलाधरलाई पठाउन लगाइएको आर्थिक प्रशासन शाखाले जनायो । रजनीले माउण्टेन कुरियरमार्फत उतिबेलै पठाएको बताइन् । जिल्ला प्रशासनमा केही दिनपछि पुनः सोध्दा ‘चेक आएकै छैन’ भनियो ।

त्यसपछि २७ साउनमा गृह मन्त्रालय पुगेर फेरि बुझ्दा २५ असारमा एभरेष्ट बैंक लि.को चेक (नं. २२८५०१२) काटेर २८ गते पत्र लेखी पठाइएको बताउँदै लेखापालद्वय तिलक पन्त र तारा भट्टराईले ‘टाढाको दुर्गम जिल्लामा पुगिसकेको छ, चितवनमा कसरी पुगेन !’ भनी आश्चर्य प्रकट गरे । कालिकोटमा चेक पुगेर कोलेनिकाको छाप छुटेको कारण फिर्ता आएको पनि उनीहरूले बताए । त्यसै दिन रजनीलाई सोध्दा चितवनको जिल्ला प्रशासन कार्यालयमा चेक पुगिसकेको जानकारी आफूले पाएको बताइन् । तत्काल गृह मन्त्रालयबाटै सिडिओ नारायणप्रसाद भट्टलाई फोन गरी सोध्दा उनले यसबारे सोधखोज गरिरहेको बताए । गृहका लेखा अधिकृत खड्कबहादुर शाहीले अहिले उक्त चेक नसाटिए पनि त्यसको जानकारी अर्थ मन्त्रालयलाई गराई पुनः रकम निकासा गरेर पठाइने बताए । त्यसका लागि अरू एक महिनाजति लाग्ने उनको भनाइ थियो ।

चितवनमा गएर कुरियरमा बुझ्दा चेक काटेको मितिले ठ्याक्कै एक महिनाको भोलिपल्ट अर्थात् २६ साउनमा जिल्ला प्रशासनले पत्र बुझेको भरपाई देखियो । वेलकम माउण्टेन कुरियर्स चितवनमा छैन, अर्कैले त्यसको सर्भिस गर्दाे रहेछ । लगत्तै जिल्ला प्रशासनमा गएर सोध्दा आफूले २७ गते मात्रै चेक पाएको लेखा अधिकृत पूर्णप्रसाद रेग्मीले बताए । म्याद गुज्रिसकेपछि आएकाले साट्न नसकिएको व्यहोरा लेखी ३१ गते हुलाकमार्फत गृहलाई जानकारी पत्र पठाइसकिएको उनको कथन छ । कसैको कुनियत हो कि ? सिडिओलाई ‘कसको कमजोरीले यस्तो भयो सर ?’ भनी सोध्दा उनले ‘तपाईं आफैं बुझ्नुस्’ भने । चितवनमा एक जनालाई तीन लाख र अन्यलाई ५०÷५० हजार रुपैयाँका दरले आठ जनाको एकमुष्ठ ६ लाख ५० हजारको एउटा चेक पठाइएको थियो ।

यस्तै, भूकम्पपीडितलाई बाँड्न दिइएको तीन करोड बढीको चेक पनि म्याद नाघेका कारण चितवनमा साट्न नसकिएको जानकारी कोलेनिकाबाट प्राप्त भएको छ । चेक नसाटिएको प्रमाण भएकाले रकम पुनः निकासा हुन सक्ने कार्यालय प्रमुख शिवप्रसाद पन्थीले बताए ।

– अजय गोर्खाली

टिप्पणीहरू