कक्षा १२ को परीक्षा शुरु, पौने ४ लाख विद्यार्थी सहमागी

कक्षा १२ को परीक्षा शुरु, पौने ४ लाख विद्यार्थी सहमागी

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा शुरु भएको छ । कोरोना महामारीको जोखिमका कारण दुई पटक स्थगित भइसकेको उक्त परीक्षा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरुको भौतिक उपस्थितीमै आज बिहान ११ बजेबाट शुरु गरेको हो ।

देशभर ४ हजार ३ सय १५ वटा परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षा असोज ८ गतेसम्म चल्नेछ । परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गराएर मात्रै परीक्षाकोठामा प्रवेश गर्न दिइएको रत्नराज्य माध्यमिक विद्यालय, नयाँ बानेश्वरका प्रधानाध्यापक रामाशीष यादवले बताउनुभयो । उहाँले हरेक विद्यार्थीलाई तीन मिटरको दूरी कायम गराएर परीक्षा सञ्चालन गराइएको बताउनुभयो ।

त्यस्तै विजय स्मारक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्माले हरेक विद्यार्थीको ज्वरोको परीक्षण गरेर मात्रै कक्षाकोठामा प्रवेश गराइएको बताउनुभयो । उहाँले कोरोनाको जोखिमबाट बच्नका लागि प्रत्येक विद्यार्थीहरुलाई मास्क र स्यानिटाइजर अनिवार्य गरेको बताउनुभयो ।

कोरोना जोखिमका कारण जेठ २६ देखि असार ४ र साउन ३१ देखि भदौ ९ गतेसम्म दुई पटक कक्षा १२ को परीक्षा स्थागित भएको थियो । आजबाट देशभरका करिब पौने ४ लाख विद्यार्थीले परीक्षा दिन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

टिप्पणीहरू