दिल त हो, देशले नसम्झँदा कम्ता दुख्दैन

दिल त हो, देशले नसम्झँदा कम्ता दुख्दैन

चाहे भारतमा भन्दा पहिला नेपालमा कम्प्युटर बनाउने मुनीबहादुर शाक्य हुन् वा रोबोट बनाउने गणेश आले मगर, यस्ता प्रतिभालाई आजसम्म सिंहदरबारले चिन्नै सकेन । ७६ वर्षको उमेरमा पनि आइटीकै क्षेत्रमा दत्तचित्त शाक्य हुन् वा ३२ वर्षे युवावयका आले– दुवै राज्यको नीतिका कारण निरास छन् ।

३३ वर्षअगाडि पूर्वीपहाडी जिल्ला तेह्रथुममा जन्मिएका थिए आले । पिता रामसिंह आले र माता मीनाको कोखबाट । पिताजी निमाविको हेडमाष्टर, आमा तेह्रथुमे ढाका कपडा उद्यमी । परिवारको एक्लो छोरा, दुई दिदी, एक बहिनी, लाडप्यारमा हुर्किए । ८ कक्षासम्म बोर्डिङ स्कुल, आठराई र ९ देखि एसएलसी तह सिंहवाहिनी स्कुलबाट पार लगाए । नौ कक्षामा पानीजहाज, विद्युत् घण्टी, इलेक्ट्रिक मोटर बनाएर गुरु र साथीहरूलाई चकित पारे ।

साथीका बाबाहरूले फालेका सरसामान बटुल्थे र तिनै सामग्रीबाट केही न केही बनाइरहेका हुन्थे । गणेशको सिर्जनशीलता तब प्रस्फुटित भयो, जब सान्निध्यता पाए दिनेश यादवको । एक दिन काम विशेषले शिक्षक यादव गणेशको घरमा पुग्दा असरल्ल सामानतिर आँखा ठोक्किए । त्यसैपछि यादवले स्कुलमा ती उपकरणको प्रदर्शन गर्न प्रबन्ध मिलाए ।

प्रदर्शनीमा प्रमुख जिल्ला अधिकारीदेखि मेजरलगायत लब्धप्रतिष्ठितलाई निमन्त्रणा गरिएको थियो । त्यही प्रदर्शनीपछि गणेशले गरेका आविष्कार चर्चामा आए । बालकुमारीस्थित आफ्नै ल्याबबाट उनी सम्झन्छन् आफ्नो स्कुले जीवन । जहाँ उनी सदैव प्रथम भए । ०६० सालमा ‘आइरन गेट’ पार लगाए । र, झरे स्वप्न नगरी काठमाडौं । उच्च शिक्षा कहाँ अध्ययन गर्ने ? यही अन्योलताबीच पुगे आइन्स्टाइन कलेज, महालक्ष्मीस्थान । त्यतिबेला स्कुले प्रतिभाको चर्चा परिचर्चा शहरमा भइसकेको रहेछ । त्यही प्रतिभाबाट प्रभावित भएर कलेजले छात्रवृत्ति दियो ।

कक्षा ११ र १२ आइन्स्टाइन कलेजबाट पूरा गरे । सोही कलेजमा भेट भयो सुख–दुःखमा साथ दिने मित्र यज्ञप्रसाद देवकोटा र म्याग्दीको गोविन्द विकसँग । उनको सफलतामा बुबा, आमाको जति साथ र हात छ त्योभन्दा कम छैन यी दुई अनन्य मित्रको साथ र सहयोग । कलेजले प्लस टु पढ्दै गर्दा प्रस्ताव गरेको थियो तिमीमा भएको केही सिर्जना देखाऊ ।’ स्कूलमै पढ्दाताका बनाएका जहाजलाई ५० मीटरसम्म जाने गरी बनाएर देखाए । हरसाल केही न केही नयाँ आविष्कार गरिरहेका हुन्छन् ।

हातमा क्यानाडा र अमेरिकाको भिसा हुँदा लाग्थ्यो, बुवा–आमा र परिवारको खुशीका खातिर पलायन भइदिऊँ उतैतिर । तर, उठाइसकेको पाइला रोकिदिन्थ्यो र मनले भन्थ्योे सुस्तरी ‘यहाँ भ्याकुम छ, धेरै गर्न सक्ने सम्भावना पनि छ ।’ इञ्जिनियरिङ शिक्षा अध्ययनका लागि बालकुमारीस्थित एनसिआइटी कलेजमा भर्ना भए । रोबोटिक्सका लागि खुड्किला नै बन्न पुग्यो उक्त कलेज । यहीँ रहँदा यन्त्र १, यन्त्र २, टेकृति, लोकसलगायतका उपकरण बनाए ।

त्यही बीचमा ड्रोनसमेत बनाएर परीक्षण गर्नका खातिर अन्नपूर्ण बेसक्याम्प पुगेर ६५ मिटरको उचाइसम्म उडाए । रोबोटिक्समा जे–जति प्रगति गरे एनसिआइटी कलेजमै पुगेपछि गरे । अहिले इञ्जिनियरिङ शिक्षा पूरा भएको आठ वर्ष भइसकेको छ । यसैमा प्रोफेसनल तरिकाले होमिएका छन् उनी । चाहे खुट्टाले हिँडोस् वा चक्काले– बाँचुञ्जेल रोबोटिक्समै काम गर्ने ध्येय छ ।

शुरुका ती संघर्षपूर्ण दिनमा जिउन निजी विद्यालयमा अध्यापन गराए । त्यही बीचमा बम डिस्पोजल रोबोट बनाउँदा तत्कालीन समयका एआइजीले निरीक्षण गरे । मीठो आश्वासन दिए तर आश्वासनले मात्र त जीवन चल्दैनथ्यो । यस्तो कुराले उनलाई निराश बनाउँथ्यो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष १ असोजमा विज्ञान तथा प्रविधि दिवस मनाउँछ । तर, यस्ता दिवस कर्मकाण्डी मात्र भए । यस्ता प्रतिभालाई न त विज्ञान तथा प्रविधि मन्त्रालय, नाष्ट, रिकाष्टजस्ता अनुसन्धानमुलक संस्थाले चिन्छ ।

त्यतिखेर नेपाल आर्मीसँग भएको बम डिस्पोजल रोबोट बोक्न ६ जना मान्छे चाहिन्थ्यो । एउटा गाडी पनि चाहिन्थ्यो तर दुर्गम स्थानमा लैजान नसकिने । सेनाले चलाउँदै आएको रोबोटको मूल्य १ करोड ६० लाखभन्दा माथिको र निकै वजनदार पनि । तिनताक सेनासँग त्यसप्रकारका रोबोट ३२ वटा रहेकोमा ११ वटा मात्र सञ्चालनमा रहेको उनको कानमा प¥यो । बिग्रिएका उपकरण बनाउने प्राविधिक जनशक्ति नहुनु, प्राविधिक विदेशबाटै ल्याउनुपर्ने र महँगो पर्ने । नेपाली सेना आफैं स्वदेशी उपकरण प्रयोग गरी रोबोट बनाउन चाहन्थ्यो । ताकि त्यस्तो रोबोट बिग्रिए विदेशीलाई गुहार्नु नपरोस् । बीचमा फस्ट्रेसनमा गुज्रिए उनी ।

सेना स्थापना दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा बेलायतका रोबोट गुडाइन्थ्यो । चाहना भयो– त्यहाँ नेपाली रोबोट गुडोस् । मनमा दबिएको यो चाह साथी सर्कलमा सुनाउँदा भन्थे, तेरो सपना कहिल्यै पूरा हुँदैन । रोबोट बनाउने सिलसिलामा ७ पटकसम्म असफलता झेले । हरेक असफलताबाट नयाँ पाठ सिक्दै गए । तिनताक लाग्थ्यो अब सिद्धियो/डुब्यो पैसा, गयो लगानी । सेनाका प्राविधिक आएर एकथरी बना भन्ने, मेजर आएर के बनाएको हो यस्तो भन्ने । झण्डै दुई वर्षको अनुसन्धानबाट रोबोट तयार पारे ।

उनी अनुसन्धानमा तल्लीन रहेकै क्षण घनिष्ट मित्र यज्ञको क्यानाडाको भिसा लाग्यो । क्यानाडा जाने कि रोबोट बनाउने ? अथक प्रयासपछि रोबोट बन्यो । नेपाली सेनाले रोबोट प्रतिस्पर्धा आयोजना ग¥यो । झण्डै १४ प्रतिस्पर्धीलाई पछि पार्दै उनकै समूहद्वारा बनाइएको बम डिस्पोजल रोबोट प्रथम हुन पुग्यो । र, ६ लाख ९५ हजार रूपैयाँमा उक्त रोबोट सेनाले खरिद गरेसँगै पछाडि फर्केर हेर्नु परेन ।

उनी काठमाडौं भित्रिएको झण्डै १६ वर्ष पूरा भयो । आफ्नै संसार छ, कहाँ फिल्म हल छ, कहाँ मनोरञ्जन गर्न पाइन्छ यसको केही हेक्का छैन । उनको ख्यालमा छ कुन सामान कहाँ किन्न पाइन्छ र मूल्य कति पर्छ ? कतिसम्म भने एडभान्स सफ्टवेयर बजारमा आएको चाल पाए भने त्यस्ता सामान विदेशबाटै तुरुन्तै मगाइहाल्छन् र त्यसकै अनुसन्धानमा जम्छन् । दिन रात केही पत्तो हुँदैन ।

रोबोटिक्समा नेपालको नाम राख्न चाहन्थे उनी । भनिन्छ, इख नभएको मान्छे र विष नभएको सर्प काम लाग्दैन । पुल्चोकस्थित रोबोटिक्स क्लबमा जोडिन खोजे । तर, उपेक्षा गरियो । मनको एउटा कुनामा नराम्रोसँग बिझ्यो त्यो उपेक्षा । सबैभन्दा ठूलो दुश्मन नै रोबोटिक्स हुन पुग्यो । तर, हिजो पुल्चोकको रोबोटिक्सले गरेको व्यवहारकै कारण आधा दर्जन प्रतिस्पर्धामा त्यही क्लबलाई हराए ।

त्यहाँका मान्छेले प्रतिस्पर्धा अगाडि नै सोच्ने स्थिति बन्यो ‘हामी सेकेण्डचाहिँ हुन्छौँ तर कहिल्यै सेकेण्ड हुनुपरेको छैन ।’ नेपाली सेनाले गरेको प्रतिस्पर्धामा समेत उनले रोबोटिक्स क्लबलाई हराउँदै आफू प्रथम भएका थिए । यही रोबोटमै उनले दुई दर्जन बढी पुरस्कार पाइसकेका छन् । ०७२ सालमै उनले बनाएको रोबोट नेपाली सेनाले सात लाखमा खरिद गरेको थियो भने ०७४ सालमा उनले बम डिस्पोजल बनाएर ३० लाखमा बेचे ।

सेनाले रोबोटिक खरिद नगरेको भए उनले पनि सोचेका थिए, ‘अब यहाँ बसेर केही हुनेवाला छैन तर त्यसपछि एक प्रकारको जोश बढ्यो । भन्छन्, यो भुइँमा खसेको एउटा पेच, एउटा नट सबैमा पैसा परेको छ । यिनलाई छाडेर म बिदेसिन कहाँ सक्छु र सक्दिनँ !’ उनको प्रत्येक सासमा रोबोट छ । खाँदा, बस्दा, सोच्दा हरपल, हरक्षण ‘रोबोट’ सोच्छन् । भन्छन् ‘अधिकांश देशमा रक्षा मन्त्रालयपछाडि विज्ञान तथा प्रविधि मन्त्रालय मानिन्छ तर हामीकहाँ सबैभन्दा हेपिएको मन्त्रालयमा पर्छ ।

उनको मनमा कहिलेकाहीँ खड्किन्छ पनि हाम्रा प्लस टु अर्थात् कलेजहरूले वनभोज र टुरका नाममा पचासाँै हजार खर्चेर विद्यार्थीको पैसा बालुवामा उडाइन्छ, त्यसको सट्टा कलेजले त्यस्तो फाल्तु रकम अनुसन्धानमा खर्चन विद्यार्थीलाई मद्दत गर्ने हो भने सहजै कलेजको प्रमोसन पनि हुन्थ्यो कि ? निरन्तर विज्ञान र प्रविधिको विकासका निम्ति कटिबद्ध छन् उनी । जीवनका ऊर्जामय ३३ वसन्तका धेरै कालखण्ड विज्ञान र प्रविधिको विकासमा समर्पित गरेका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष १ असोजमा विज्ञान तथा प्रविधि दिवस मनाउँछ । तर, यस्ता दिवस कर्मकाण्डी मात्र भए । यस्ता प्रतिभालाई न त विज्ञान तथा प्रविधि मन्त्रालय, नाष्ट, रिकाष्टजस्ता अनुसन्धानमुलक संस्थाले चिन्छ । एकातिर सरकार ब्रेन ड्रेनको कुरा गर्छ अर्काेतिर राज्यले भएका प्रतिभा चिन्न नसक्दा मातृभूमिलाई सराप्दै विदेश पलायन हुनुपर्ने अवस्था आयो भने योजस्तो ठूलो दुर्भाग्य केही हुँदैन ।

टिप्पणीहरू