जग्गा बिक्रीमा किर्ते गरेर पछिल्लो खरिदकर्ताको ७० लाख झ्वाम

जग्गा बिक्रीमा किर्ते गरेर पछिल्लो खरिदकर्ताको ७० लाख झ्वाम

बिक्री भइसकेको जग्गा पुनः बिक्री गर्ने तर बिक्री वापतको रकम ठगेर बेपत्ता भएका एक जनालाई प्रहरीले समातेको छ । जग्गा किर्ते र ठगी गरेको आरोपमा धरान नगरपालिका ९ घर भई हाल काठमाडौंको ३२ वडामा बस्दै आएका रुसिल कटुवाल पक्राउ परेका हुन् ।

मोरङ केराबारी गाउँपालिका ६ घर भएका धिरजकुमार दाहाल र कटुवालले नुवाकोट तारकेश्वर २ का उद्धवप्रसाद अधिकारीलाई मोरङ केराबारीको जग्गा बिक्री गरेका थिए ।

अधिकारीले पनि बिक्री वापत ६८ लाख ९० हजार रुपैयाँ दिए । तर जग्गा पासै नगरी सम्पर्कविहीन भएपछि उनीहरुमध्ये कटुवाल प्रहरीको फन्दामा परेका छन् ।

उनीहरु पैसा बुझेर सम्पर्कविहीन भएपछि अधिकारीले मालपोत कार्यालय मोरङमा सोधखोज गर्दा उक्त जग्गा अन्य व्यक्तिहरुको नाममा बिक्री भइसकेको जानकारी पाएका हुन् ।

त्यसपछि उनले सबै व्यहोरा खोलेर हालेको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले कटुवाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका कटुवाललाई महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ भने फरार धिरजको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू