काठमाडौंबाट बिराटनगर उड्न लागेका यात्रुबाट ३ किलो बढी सुन बरामद

काठमाडौंबाट बिराटनगर उड्न लागेका यात्रुबाट ३ किलो बढी सुन बरामद

त्रिभुवन विमानस्थलबाट बिराटनगर उड्न लागेको विमानका यात्रुबाट दुई करोडभन्दा बढी मूल्यको सुनको गहनासहित दुई जना पक्राउ परेका छन् ।

श्री एयरलाइन्सको उडानद्वारा काठमाण्डौंबाट बिराटनगर जान लागेका यात्रुहरूको लगेज चेकजाँच गर्ने क्रममा उक्त सुन बरामद भएको हो ।

पक्राउ पर्नेमा कैलाली बर्दगोरिया गाउँपालिका १ घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका २ घर भएका ४७ वर्षीय मुरारीराज अधिकारी हुन् ।

एक्सरे मेशिनमा लगेज चेक गर्ने क्रममा प्रहरीले उक्त परिमाणको सुनको गहना फेला पारेको हो । भण्डारीको साथबाट २२ क्यारेटको ५ सय १५ ग्राम बराबरको सुनका विभिन्न गहना फेला पारेको बताइएको छ ।

त्यस्तै मुरारी अधिकारीको साथबाट २४ क्यारेटको ५ सय ९७ ग्राम, २२ क्यारेटको १ हजार ५ सय ५२ ग्राम तथा पत्थरजडित १४ क्यारेटको ६ सय ९६ ग्राम सुनका विभिन्न गहना बरामद गरिएको छ ।

प्रक्रिया पूरा नगरी लैजान लागेको अवस्थामा गहना फेला पारेकाले उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । दुबै जनालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक पठाइएको प्रहरीको भनाई छ ।

टिप्पणीहरू