अस्तव्यस्त छ सिंहदरबार अचेल

सरकारले गर्नुपर्ने काम आफूले गर्न नसकेको मात्रै हैन, लगाउनुपर्नेलाई काममा लगाउन पनि नसकेपछि सिंहदरबार अस्तव्यस्त छ । यसरी अरु त अरु, विशिष्ट श्रेणीका सचिवहरु नै हाजिर गर्ने ठाउँ नपाएर घरमै ढल्किई बस्नुपर्ने अवस्था छ ।

अहिले गरिबी निवारण मन्त्रालय र सुदूर पश्चिम क्षेत्रीय प्रशासकमा सचिव खालि छ । सुदूरपश्चिमका क्षेत्रीय प्रशासक शरदराज विष्टले अवकास पाएका र एक महिनाअघि बढुवा भएका सचिव कृष्णराज बिसी अहिलेसम्म जगेडामा रहेका हुन् । स्थानीय विकासका सहसचिव रेश्मीराज पाण्डेलाई सोमबारको मन्त्रिपरिषद् बैठकले सचिव पदमा बढुवा गरेको छ । सचिव पद अर्को एउटा पनि खालि छ । त्यसमा योजना आयोगका लालशंकर घिमिरेलाई बढुवा गर्ने योजना छ । अर्को बिजोग छ, निर्वाचन आयोगबाट प्रम कार्यालय पठाइएका गोपी मैनालीको । उनको दरबन्दीमा पोखराबाट क्षेत्रीय प्रशासक डेगेन्द्रराज शर्मा हाजिर भएका छन् । डेगेन्द्र आउनासाथ गोपी काजमा निर्वाचन क्षेत्र निर्धारण आयोगको सदस्य सचिव हुन गए । तर, गोपी मैनाली हाजिर गर्ने ठाउँ नपाएर दिक्दार छन् । इञ्जिनियरिङ समूहका सचिव सर्वजीत महतोले असोज पहिलो साता अवकास पाएपछि उनी कार्यरत रहेको पुनःनिर्माण प्राधिकरणमा पनि सचिव पद खालि हुँदैछ । त्यसमा माधव कार्की वा इञ्जिनियरिङ समूहकै कसैलाई बढुवा गर्ने तयारी छ ।

त्यस्तै, घरेलु तथा साना उद्योग विकास समितिको निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायको हिजो मंगलबार बिदाई भयो । अब त्यहाँ निमित्त हुने वरिष्ठताका आधारमा सुरेन्द्र थापामगर हुन् । डेढ वर्षदेखि राजनीतिक नियुक्ति हुने कार्यकारी निर्देशक पदमा अहिलेसम्म कोही परेका छैनन् । पूर्ववर्ती सरकारका उद्योग मन्त्री नवीन्द्रराज जोशीले तीनमध्ये एकलाई नियुक्त गर्ने भनेर नाम सिफारिस गरेका थिए । त्यसमध्ये सरकार ढल्नुअघिको मन्त्रिपरिषद् बैठकले बाबुराम अधिकारीको निर्णय त ग¥यो, तर उनीविरुद्ध कार्यअनुभवको प्रश्न उठाउँदै अख्तियारमा उजुरी परेपछि पद बहाली गर्न सकेका छैनन् । अहिले त्यो नियुक्ति कोमामा छ । 

त्यस्तै, स्वास्थ्य मन्त्रालयमा मन्त्री गिरिराजमणिको भन्दा  निजी सचिव इन्द्रमणि पोखरेलको हालिमुहाली चलेको छ । रमाइलो कस्तो भने, मन्त्रीलाई निजी सचिवले नै ढिम्किन नदिने स्थितिमा आइतबार रामसिंह यादव राज्यमन्त्रीको पद बहाली गर्न मन्त्रालय पुगे । गिरिराजमणि नारायणकाजीको कोटामा मन्त्री भएका हुन् । तर, रामसिंह भने प्रचण्डका खास हुन् । अर्थात्, पार्टी एउटै, गुट फरक । बहाली हुनासाथ कर्मचारीहरुलाई सोधे, मैले पाउने अधिकार के–के हो ? कति हो ? तर, जवाफ स्वयं मन्त्रीसँग छैन, कर्मचारीले भनुन् के ? हालै चूडामणि भण्डारीलाई स्वास्थ्य सेवा विभागको उपमहानिर्देशक बनाइएको छ । गगन थापाले जातेजाते नियुक्त गरेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.राजेन्द्र पन्तलाई गिरिराजमणिले हटाउन खोजेका थिए । तर, गगनसँग गिरिराजको वार्ता भएपछि थमौति गर्ने गरी लेनादेना भइसक्यो भनेर मन्त्रालयमा हल्लिखल्ली छ ।

त्यसैगरी, सिक्टा सिञ्चाई आयोजनाले बाँध खोलेका कारण बाँके, बर्दिया जलमग्न भएको भन्दै स्थानीयले संघर्ष समिति बनाए । यसपछि मन्त्री सञ्जय गौतमको निर्देशनमा आयोजना प्रमुख रमेश बस्नेत मन्त्रालय तानिएका छन् । सिंचाई विभागका महानिर्देशक राजेन्द्र अधिकारीलाई जलस्रोत अनुसन्धान केन्द्र भन्ने नाममात्रको निकायमा सरुवा गरेर अशोक सिंहलाई महानिर्देशक बनाइएको छ । जलउत्पन्न प्रकोप नियन्त्रण विभागको महानिर्देशक पनि फेर्ने क्रम शुरु भएको छ । मन्त्रीले आयोजना प्रमुखहरु पनि फेर्न खोजेका छन् ।

टिप्पणीहरू