​हिमानीसँग हिँड्ने हुल

पूर्वयुवराज्ञी हिमानी आज बुधबार बाढी पीडितलाई राहत वितरण गर्ने काममा बारा, पर्सा जाने भएकी छन् । बैंककमा उपचाररत ससुरा तथा पूर्वराजा ज्ञानेन्द्र र सासू कोमलको हेरचाह गर्दै रहेकी उनी ११ गते फेरि उतै फर्किने छिन् ।'

आज विहान हेलिकोप्टर रिजर्भ गरेर हिमानीसहित सात जनाको टोली पर्साको पोखरिया, बाराको पर्सौनी र भौलही पुग्ने भएको हो । उनी आफैँ अध्यक्ष रहेको हिमानी ट्रस्टका तर्फबाट राहत सामग्री वितरण गर्न लागिएको छ । त्यहाँ हालैको बाढीले बस्ती डुबानमा परेको छ । तर, त्यहाँको डुबान पूर्वी तराईमा जत्तिको भयावह छैन । उनले त्यहाँका बाढी प्रभावित दुई सय ५० घर धुरीका लागि एक महिनालाई पुग्ने गरी दाल, चामल, नुन, चिउरा, तेल र पानी शुद्ध पार्ने फिल्टर वितरण गर्ने योजना बनाएकी छन् । सामानहरुचाहिँ हिजो साँझै ट्रकहरुमा लोड गरेर काठमाडौंबाट हिँडाइएको छ । हिमानीसँग आज हेलिकोप्टरमा स्वकीय सचिव स्मिता सिंह, ट्रष्टकी सचिव श्री मल्ल, कानुनी सल्लाहकार अनिता केसी, सहयोगीहरु अदिती सिंह र हेमन्त दाहाल जाँदै छन् ।  

उता, ट्रष्ट सञ्चालनमा आर्थिक संकट पर्न थालेपछि त्यसको संरचना फेरिएको छ । पोहोर कार्यालय सचिवको जिम्मेवारी सम्हालेकी विजया राणाको निधन भएपछि ट्रष्ट नै अस्तव्यस्त थियो । त्यसपछि त्यहाँबाट अर्चना शर्मासहितको एउटा समूहले राजीनामा दिएको छ । हालै उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा टोयोटा कारका नेपाली डिलर सुरज बैद्य र हिमालयन बैंकका कार्यकारी अधिकृत अशोक राणालाई ट्रष्टको कार्यकारी सदस्यमा मनोनयन गरेकी छन् । त्यसबाहेक हिमानीकी दिदी रेश्मा राणा पनि कार्यकारी सदस्यको भूमिकामा छन् । दरबारका पूर्वसैनिक सचिव शान्तबहादुर मल्लकी छोरी श्री मल्ल सचिवको भूमिकामा छिन् ।

टिप्पणीहरू