हात्ती धपाउन जाँदा ज्यान गयो

हात्ती धपाउन जाँदा ज्यान गयो

धान खान आएको जंगली हात्ती धपाउन गएको समूहमाथि नै हात्तीले आक्रमण गरी एकजना युवकको ज्यान लिएको छ । यो घटना हो मकवानपुरको मनहरी गाउँपालिका ६ जोगितालको ।

एक महिना अघिबाट निरन्तर हात्ती गाउँबस्तीमा पसेर घरगोठ भत्काउने र अन्नपातमा क्षति पु¥याउने गरिरहेको थियो । सोही क्रममा भदौ २९ गते मंगलबार राति धान खानका लागि जंगली हात्ती जोगितालस्थित बनकरिया डहर नजिकै छिरेको थियो ।

हात्ती आएर धानमा क्षति पु¥याउन थालेपछि सामूहिक रुपमा हात्ती धपाउन गाउँलेहरु निस्केका थिए । तर, हात्तीले मान्छेलाई नै तितरबितर पारेर आक्रमण गरेपछि भागाभाग भएको स्थानीयबासिन्दाले बताए ।

भागाभागपछि सबैजना घर फर्किए, तर ३४ बर्षीय रामलाल जिम्बा तामाङ बेपत्ता भए । फेरि राति नै रामलाललाई खोज्न निस्केका गाउँलेले विद्युतीय झड्कानजिकै लडिरहेको अबस्थामा फेला पारे ।

रामलालका कपडाहरु च्यातिएको, टाउकोमा चोट लागेको अबस्थामा फेला पारेका गाउँलेहरुले तत्कालै उद्धार गरी चितवनस्थित अस्पताल पु¥याए ।

तर, चिकित्सकले मृत घोषणा गरिदिएको स्थानीय सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहका सचिव रमेश कार्कीले बताउनुभयो । एकमहिना देखि जोगितालका किसानहरु हात्ती आतंकबाट पीडित छन् ।

चितवन र पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती र सीमावर्ती क्षेत्रमा पर्ने जोगितालमा निकुन्जबाट जंगली हात्ती आउने गरेको छ । केही दिनअघि मात्रै पनि आधादर्जन घरगोठ जंगली हात्तीले भत्काएको थियो ।

टिप्पणीहरू