भ्यागुतो खोज्ने दुई युवक ठहरै

भ्यागुतो खोज्ने दुई युवक ठहरै

रातिको समयमा आहाराका लागि निस्कने र दिनभर खोँचमा लुकेर बस्ने पाहा (भ्यागुता प्रजातिको जीव) को शिकार गर्न जंगल गएका मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ५ का दुईजना युवकको लडेर ज्यान गएको छ ।

मुत्यु हुनेमा भीमफेदी गाउँपालिका ५ माथिल्लो ज्यामिरेका नवीन दोङ र राजन दोङ रहेका छन् । उनीहरु मंगलबार राति पाहाको शिकार गर्न स्थानीय धुन्धुरे खोल्सीमा पुगेका थिए ।

बुधवार बिहानसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा स्थानीयले लडेर मृत अबस्थामा दुबैलाई फेला पारेको बताइएको छ । ११० मिटर अग्लो उचाईमा रहेको धुन्धुरे खोल्साका आसपासमा पाहा पाइने गरेको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेको र मुचुल्का लगायतका कागजी प्रक्रिया पूरा गरी पोष्टमार्टम गर्न हेटौँडा अस्पतालमा शव ल्याउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयइश्वर रिमालले बताउनुभयो । लडेर नै हो वा अन्य कारणले युवकको ज्यान गयो भन्नेबारे अनुसन्धान गरिने उहाँले बताउनुभयो ।

पाहा एकप्रकारको भ्यागुता नै हो । यसको मासु सेवनबाट शरीरमा शक्ति आर्जन हुने, दीर्घ रोगहरुबाट मुक्ति पाइने विश्वास गरिएको छ ।

मकवानपुरका पहाडी गाउँबस्तीमा रहेका खोल्सा र खोँचहरुमा १० किलोग्रामसम्मका पाहा पाइने गरेकौ स्थानीयबासिन्दा बताउँछन् ।

टिप्पणीहरू