गुनासा, गलफत्ती, गडबडी, गञ्जागोल

‘केही न कामका मान्छेलाई फुल मन्त्री, हामीचाहिँ राज्य ? हाम्रो इतिहासमा इतिहास, योगदानमा योगदान, अनुभवमा अनुभव–के छैन, लु भन्नुस्…!’ यसरी नाम अनुमोदन गराई शपथमा जानु भनिएका सांसदहरु बुरुक्क–बुरुक्क उफ्रिन थालेपछि आइतबारको राज्यमन्त्री नियुक्तिका क्रममा कांग्रेसभित्र झमेला उत्पन्न भएको छ ।

रामचन्द्र पौडेलले आफ्नो भागमा परेको राज्यमन्त्रीमा केन्द्रीय सदस्यसमेत रहेकी सरिता प्रसाईंलाई सिफारिस गरेका छन् । उनलाई शपथपछि कृषि मन्त्रालयमा जानु भनिएको हो, तर मन्त्री रामकृष्ण यादव आफूभन्दा राजनीतिक भूमिकामा जुनियर हुन् । उनले भनिन्, ‘म त्यहाँ कसरी जाऔँ ?’ रामचन्द्रकै सिफारिसमा सप्तरीका सांसद पदमनारायण चौधरी, रोल्पाका अमरसिंह पुन, कञ्चनपुरका दिवानसिंह विष्ट सिफारिस भएका छन् । सांसद ढिलो भए पनि पार्टीमा धेरै पहिलादेखि काम गर्दै आएको भन्दै बृद्ध दिवानसिंहले राज्यमन्त्रीमा असन्तुष्टि जनाएका छन् । त्यस्तै, पार्टी संसदीय दलको नेताका हैसियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका ध्यानगोविन्द रञ्जितलाई बाणिज्यमा, रुपन्देहीका अब्दुल रजाकलाई श्रममा, ओखलढुंगाका रामहरि खतिवडालाई भौतिक योजनामा, दाङकी पार्वती डिसी चौधरी वा तेह्रथुमकी सीता गुरुङमध्ये एकलाई राज्यमन्त्रीमा सिफारिस गरेका छन् । खुमबहादुर खड्काले सञ्चार राज्यमन्त्री हुने गरी सुर्खेतका तप्तबहादुर बिष्ट, कृष्ण सिटौलाले झापाकी उषा गुरुङको नाम पठाएका छन् । 

राज्यमन्त्रीमा सिफारिस भएकामध्ये पार्टी केन्द्रीय सदस्यसमेत रहेका सांसदहरुलाई राप्रपा सरकारमा नगएर खालि रहेका चार मन्त्रालयहरुमा पठाउन देउवालाई दबाब दिइएको एक कांग्रेस नेताले बताए । खतिवडाले राज्यमन्त्री खान नजाने बताए । ‘हामीलाई आइतबार नै दौरा–सुरुवाल लगाएर बस्नु भन्ने खबर आएको थियो’, उनले भने, ‘हामी पहाडका मान्छेलाई दौरा सुरुवाल लगाउन कसैले भन्नै पर्दैन । तर, दौरा सुरुवालको पनि अपमान हुने गरी दिइएको राज्यमन्त्री स्वीकार गर्दिनँ ।’

उता, पार्टी केन्द्रीय सदस्यसमेत रहेकी ५१ वर्षीया पार्वती डिसी चौधरीका लागि पनि राज्यमन्त्री कम भएको गुनासो छ । त्यसमाथि उनी वा सीता गुरुङमध्ये एक भनिएको छ । जबकि, सीता उति लामो इतिहास भएकी सांसद होइनन् । पार्वतीचाहिँ ०४९ मै दाङको सोनपुर गाविस उपाध्यक्ष भएकी र ०७० मा दाङ १ बाट आठ हजार सात सय १९ मतले जितेकी सांसद हुन् । त्यस्तै, ५६ वर्षीय दिवानसिंह विष्टले ०३४ सालदेखि कांग्रेस राजनीति गरेका हुन् । उनले ०७० मा कञ्चनपुर १ बाट १० हजार दुई सय ९४ मतका साथ चुनाव जितेका थिए । 

टिप्पणीहरू