​खुट्टा भाँच्ने धम्कीको खुलासा

मन्त्रीले आफ्नै पार्टीका सांसदको खुट्टा भाँचिदिने धम्की दिएको उजुरी कांग्रेस नेतृत्वसमक्ष पुगेको छ । धनुषा क्षेत्र नं. ५ बाट निर्वाचित पूर्व राष्ट्रपतिका सुपुत्र सांसद चन्द्रमोहन यादवलाई सोही क्षेत्रबाट समानुपातिक सांसद हुँदै खानेपानीमन्त्री बनेका महेन्द्र यादवले दिएको धम्कीको उजुरी वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासम्म पुगेको हो ।

बानेश्वरस्थित आनन्द पार्टी प्यालेसमा प्रदेश नम्बर दुईका नेता–कार्यकर्ताको निम्ति आयोजित भेलामा सांसद चन्द्रमोहनले आफ्नो खुट्टा मन्त्रीले भाँचिदिने धम्की दिएको पोल लगाएका थिए ।

यो कुरा मन्त्री महेन्द्रले पत्तो पाएका थिएनन् तर सो भेलामा जम्मा भएका सप्तरीका कार्यकर्ताले मन्त्रालय पुगेका बेला शुक्रबार ४.३० बजे सुनाउन भ्याएका थिए । त्यतिबेला मन्त्रीले सोधे, ‘नेताहरूको प्रतिक्रिया के आयो त ?’, ती कार्यकर्ताले बताए, ‘सुन्ने काम मात्रै भयो, कुनै प्रतिक्रिया आएन ।’ यति सुनेपछि मन्त्रीले चन्द्रमोहनलाई डरपोकको संज्ञा दिँदै यस्ता काँतरलाई कसैले पनि समर्थन नगर्ने बताए । 

उनले चन्द्रमोहनलाई गैरराजनीतिक व्यक्ति भएको समेत सुनाए । एउटा घटना सुनाउँदै भने, ‘धनुषामा आयोजित कार्यक्रममा केन्द्रीय प्रतिनिधि बनेर पुगेका गुरुराज घिमिरेले विधानअनुसार गरेको निर्णयमाथि चन्द्रमोहनले नोटअफ डिसेन्ट लेख्ने धम्की दिएपछि उनका बुबा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलाई फोन लगाउँदा छोरो राजनीतिक प्राणी नभएको भन्दै उसलाई आफूखुशी चल्न दिनु भनेका थिए ।’ विरासतको राजनीतिबाट आएका चन्द्रमोहन र तलैबाट उठेका महेन्द्रबीच राजनीतिक हैसियतका विषयमा बेला बेला यस्ता विवाद परिनै रहने गरेका छन् । 

टिप्पणीहरू