बजेटको बहार, मोटरबाइकमा महङ्गीको उपहार

बजेटको बहार, मोटरबाइकमा महङ्गीको उपहार

तपाईं दशैँमा नयाँ सवारीसाधन किन्ने दाउमा हुनुहुन्छ भने एकपटक खल्ती छाम्नै पर्ने हुन सक्छ । किनभने पछिल्लो बजेटले मोटरसाइकलमा महङ्गी उपहार दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले हालै प्रतिस्थापन विधयकको रुपमा संसदमा प्रस्तुत गर्नुभएको बजेटले मोटरसाइकलहरु ४० हजार रुपैयाँसम्म महङ्गो हुने भएका छन् ।

सरकारले जारी गरेको बजेट व्यवस्थाका कारण मोटरसाइकल खरिदकर्ताले धेरै रकम तिर्नुपर्ने भएको हो । बजेटमा मोटरसाइकलको अन्तःशुल्कमा १० प्रतिशत वृद्धिको प्रस्ताव गरिएको छ । दशैँ अगाडिनै बजेट पास भए मोटरसाइकल खरिद गर्न उपभोक्ताले अतिरिक्त रुपैयाँको जोहो गर्नुपर्ने भएको छ ।

बजेटमा १ सयदेखि १ सय ५५ सिसिसम्मका मोटरसाइकलमा १० प्रतिशत अतिरिक्त अन्तःशुल्क थपेर ५० प्रतिशत पुर्याउने प्रस्ताव गरिएको छ । यस्तै २ सय सिसिदेखि २ सय ५० सिसिसम्मका मोटरसाइकलमा पनि यसअघि कायम रहेको ५० प्रतिशत अन्तःशुल्कलाई बढाएर ६० प्रतिशत पुर्याउने प्रस्ताव गरिएको छ ।

दुबै किसिमका बाइकमा १० प्रतिशत अन्तःशुल्क वृद्धि हुँदा मोटरसाइकलको मूल्य १५ हजारदेखि ४० हजार रुपैयाँसम्म महङ्गो पर्ने बताइएको छ ।

टिप्पणीहरू