८ वर्षअघि बेचिएकी युवती फर्किइन्, बेच्ने महिला समातिइन्

८ वर्षअघि बेचिएकी युवती फर्किइन्, बेच्ने महिला समातिइन्

१३ वर्षीया बालिकालाई आठ वर्षअघि भारतमा बेचेकी महिलालाई सुर्खेतको भेरीगंगाबाट पक्राउ गरिएको छ । ५० वर्षीया ती महिलालो ८ वर्षअघि १३ वर्षीया बालिकालाई भारतमा लगेर बेचेकी हुन् ।

प्रहरीले बालिका बेच्ने महिलालाई भेरीगंगा नगरपालिका–६ बाट समाती सार्वजनिक गरेको हो । उनले २०७१ जेठ १८ गते गुर्भाकोट नगरपालिका–९, सुर्खेतकी १३ वर्षीया बालिकालाई ललाइफकाई भारत पुर्याएर बेचेकी थिइन् ।

ती महिलाको योजनामा उनकै छोरीले भारतमा राम्रो जागिर लगाइदिने प्रलोभनमा बालिकालाई ललाइफकाई गरी नयाँ दिल्ली पुर्याएर बेचबिखन गरेको खुलेको छ । पीडित बालिका बेचिएको ठाउँमा १५ महिना बसेको र पछि त्यहाँबाट भागेर मुम्बई पुगेको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीका अनुसार बेचिएको आठ वर्षपछि पीडित बालिका अहिले युवती उमेरमा भारतबाट भदौ २३ गते घर फर्केकी हुन् ।

उनी घर फिर्नुअघि नै बालिका बेचबिखन गर्ने ती महिलाविरुद्ध गुर्भाकोट नगरपालिका–९ की ५८ वर्षीया अर्की महिलाले २०७७ माघ २६ गते सुर्खेत प्रहरीमा बालिका बेचबिखनको जाहेरी निवेदन दिएकी थिइन् ।

त्यहि जाहेरीका आधारमा महिलालाई पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ ।

टिप्पणीहरू