​को–को अन्तिममा काटिए !

यहाँ कस्ता–कस्ता मान्छे पनि बेलाबखत चिप्लिँदा रहेछन् भन्ने कुराको एउटा उदाहरण हो, यो । प्रधानन्यायाधीशको सचिवालयमा अघिल्लो साता वरिष्ठ अधिवक्ताको सूची टुंग्याउन सबै न्यायाधीशको पूर्ण बैठक बस्यो । बिहान ९ बजे बैठक शुरु हुनु २ घण्टाअगाडि अर्थात् ७ बजे नै दुईजना वकिललाई त्यहींबाट फोन गयो, ‘ल बधाई छ, वरिष्ठको पदवी पाउन लाग्नुभएकोमा !’ तर, ९ बजे छलफल हुँदा यी नाम पास भएन ।

शुभकामना दिनेहरूले नाम पास गराउन नसकेपछि बधाई थाप्नेहरू हिस्स परे । दुई घण्टा भन्दा बढी त्यो खुशी टिक्न सकेन । समाचार स्रोतकाअनुसार, यसरी हिस्सिनेहरू हुन्, पदम बैदिक (माओवादी कोटाबाट न्यायपरिषद् सदस्य) र हरि फुयाँल (एमाले समर्थक पूर्वमहान्यायाधिवक्ता) । सुशील पन्त र पवनकुमार ओझा पूर्वमहान्यायाधिवक्ता भएको समेत आधारमा वरिष्ठ बनाइएका थिए । यही हिसाबले उनीहरूलाई पनि दिने योजना थियो तर छुटे । मोरङका देवी घिमिरे, ल क्याम्पसका डा. गोपाल दाहाल, राप्रपाका कानुनी सल्लाहकार चन्द्र काफ्लेहरूको योग्यता पुग्यो तैपनि छुटे । कतिपयलाई त छलफलका क्रममा न्यायाधीशहरूले चिन्दैनौंसमेत भने ।

धु्रवलाल श्रेष्ठ वर्षांैदेखि सुडानमा छन्, रमेशविक्रम कार्की अमेरिकामा ग्यास स्टेसन चलाएर बसेका छन्, उनीहरूले पनि यसचोटि वरिष्ठ बन्न पाए । कानुन व्यवसायी परिषद् ऐनमा के व्यवस्था छ भने १५ वर्षसम्म नियमित वकालती अभ्यास गरेको भए त्यस्तालाई वरिष्ठ दिन सकिने तर न्यायाधीशबाट ६३ वर्षको उमेरमा ३ वर्षअगाडि अवकाश पाएका केशव मैनालीले पनि पाए यो उपाधि । स्रोतका अनुसार फुलकोर्टले गरेको वरिष्ठसम्बन्धी सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर हुने तयारी छ । 

टिप्पणीहरू