अर्घाखाँचीबाट टोपबहादुर र महेश बस्नेतको एउटै स्वर : प्रचण्ड र माधवलाई वाम एकता पचेन

अर्घाखाँचीबाट टोपबहादुर र महेश बस्नेतको एउटै स्वर : प्रचण्ड र माधवलाई वाम एकता पचेन

माओवादीबाट एमाले नेता बनेका टोपबहादुर रायमाझी र महेश बस्नेतले एउटै मञ्चबाट बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कटाक्ष गरेका छन् । सन्धिखर्कस्थित जिल्ला समन्वय समितिको सभाहलमा हिजो आयोजित एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनीहरुले दुबै नेतालाई वाम एकता नपचेको समेत भनेका हुन् ।

बस्नेतले एकीकृत कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न बनाएर कलंकको टीका लगाएको र के जातिलाई घ्यू नपचे झैँ प्रचण्डलाई नेकपा नपचेको आरोप लगाएका छन् । केपी ओली जत्तिको राष्ट्र हितमा काम गर्ने नेता नेपालमा अरू कोही नभएको उल्लेख गर्दै बस्नेतले नेकपा एमालेलाई कमजोर बनाउन खोज्नु हात्तीलाई भुसुनाले टोके बराबर हुने बताएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा १ लाख रुपैयाँको स्वास्थ्य बीमा, मुटुरोग र मिर्गौला रोगीलाई १ लाख रुपैयाँ निःशुल्क दिने व्यवस्था गरेको उल्लेख गर्दै बस्नेतले भने, ‘देशभर हजारौं हस्पिटल निर्माण, बाटो निर्माण, तुइन हटाएर पुल निर्माण कसले गर्यो ?’

चीनका राष्ट्रपति सि जिनपिङलाई नेपाल भ्रमणमा ल्याएर दुई देशबीचको सम्बन्ध सुमधुर बनाएको, प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरेको, कृषि आधुनिकीकरण कार्यक्रम शुरु गरे पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड र माधव नेपाल शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पुगेर लम्पसार परेको समेत बस्नेतले दाबी गरेका छन् ।

कार्यक्रममा बोल्दै नेता रायमाझीले आगामी निर्वाचनमा नेकपा एमाले देशकै पहिलो पार्टी हुने बताएका छन् । देशमा लोडसेडिङको अन्त्य पनि केपी ओलीले नै गरेकाले आगामी निर्वाचनपछि उहाँलाई नै प्रधानमन्त्री बनाउने रायमाझीले प्रतिबद्धता व्यक्त गरे ।

टिप्पणीहरू