भीम रावलमाथि हो अबको ओली आक्रमण ?

भीम रावलमाथि हो अबको ओली आक्रमण ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले पदको बार्गेनिङ गर्नेहरुलाई एमालेमा ठाउँ नहुने बताउनुभएको छ । एमालेका केही नेताले पद नपाए पार्टी छोड्छु भनेर बार्गेनिङ्ग गरेको भन्दै उहाँले त्यस्तो बार्गेनिङ आफूलाई स्वीकार्य नहुने प्रष्ट पार्नुभएको हो ।

कार्यकर्ता प्रशिक्षणका लागि गृहजिल्ला झापा पुग्नुभएका ओलीले पदका लागि मरिमेट्नेहरु एमाले हुनै नसक्ने बताउनुभयो । आवश्यकताका आधारमा जिम्मेवारी लिने कुरा स्वभाविक भए पनि पदका लागि मरिहत्ते गर्ने व्यक्ति एमालेको नेता हुन नसक्ने भन्दै उहाँले अब पार्टीमा त्यस्तो विचारले स्थान नपाउने चेतावनी पनि दिनुभयो ।

‘पद नपाए पार्टी छोड्ने रे ! के भन्छ कार्यकर्ताले ? फलानो पद नदिने हो भने म पार्टीमा बस्दिन, छोड्छु रे के भन्या त्यो ? एमालेका लागि सुहाउने कुरा हो ?,’ ओलीले भन्नुभयो, ‘कम्युनिष्ट सिद्धान्त र आदर्शले के भन्छ ? पदका लागि काम गर,पद नपाए पार्टी छोड भन्छ ?’

‘पद नपाए पार्टी छोड्ने रे ! के भन्छ कार्यकर्ताले ? फलानो पद नदिने हो भने म पार्टीमा बस्दिन, छोड्छु रे के भन्या त्यो ? एमालेका लागि सुहाउने कुरा हो ?,’ ओलीले भन्नुभयो, ‘कम्युनिष्ट सिद्धान्त र आदर्शले के भन्छ ? पदका लागि काम गर,पद नपाए पार्टी छोड भन्छ ?’

पार्टीमा अवसर आउँदा क्रमशः सबैको पालो आउने भएकाले मरिहत्ये नगर्न पनि ओलीले नेता–कार्यकर्तालाई सुझाव दिनुभयो । देश,जनता र आन्दोलनको रक्षाका लागि जिम्मेवारी आइपर्दा पदमा बस्नुपर्ने तर पद नपाए पार्टी छोड्छु भन्नु आन्दोलन विरोधी कुरा हुने उहाँको भनाइ छ ।

‘म कमरेडहरुलाई भन्न चाहन्छु सबैको क्रमशः पालो आउँछ तर पदका लागि मरिमेट्नु हुँदैन । पदको जिम्मेवारी लिनुपर्ने हुन्छ त्यो देश,जनता,आन्दोलन र पार्टीका लागि हुनुपर्छ । पद के का लागि भन्ने बुझ्नुपर्छ,’ उहाँले भन्नुभयो । ओलीले पद नपाए पार्टी छोड्ने कुरा एमालेको नभई माधव नेपालको बाटो भएकाले त्यस्तो बाटोमा नलाग्न आफ्ना कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

१० बुँदे सहमति कार्यान्वयनलाई लिएर विवाद भइरहेका बेला ओलीले अहिलेको एमालेलाई नेकपाकै निरन्तरताको रुपमा बुझ्नुपर्नेमा जोड पनि दिनुभयो । माओवादी केन्द्रलाई प्रचण्डको सानो गुटको संज्ञा दिनुभएका ओलीले तत्कालीन नेकपाको मूल हिस्सा आफैंसँग रहेको र माओवादीका धेरै नेता–कार्यकर्ता एमालेमै बसेको पनि दाबी गर्नुभयो ।

‘माओवादी केन्द्र र एमाले अलग–अलग भएको होइन । एकीकृत पार्टी कायमै छ । प्रचण्डले आफ्नो गुट लिएर गएका हुन्न,ओलीले भन्नुभयो, ‘नेकपाको दल दर्ता बदर भयो तर पार्टी एकता बदर भएको होइन । हिजो माओवादी केन्द्रमा रहेका साथीहरु नेकपा दर्ता खारेज भएपछि पनि एकीकृत पार्टीमै रहनुभयो, भलै पार्टीको नाम एमाले रह्यो । यो कानुनी कुरा हो ।’

ओलीले एमालेमा अब गुटबन्दी नचल्ने घोषणा पनि गर्नुभयो । भविष्यमा एमालेलाई विचारमा आधारित सुदृढ,एकताबद्ध र गतिशील पार्टीका रुपमा विकास गर्ने भन्दै उहाँले गुटबन्दी स्वीकार नहुने बताउनुभएको हो । विगतमा जस्तो अराजकता, अनुशासनहीनता अब सह्य नहुने भन्दै उहाँले पार्टी हित विपरित अब कुनै पनि सम्झौता नगरिने प्रष्ट पार्नुभयो ।

एमालेमा तेस्रोधार भनिएका भीम रावल,घनश्याम भुसाललगायतका नेताहरुले अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्ध नहुँदा समस्या भएको बताइरहेका बेला ओलीको यस्तो प्रतिक्रिया आएको हो । १० बुँदे सहमतिअनुसार २०७५ जेठ २ मा फर्किंदा रावल स्वतः सुदूरपश्चिमको इञ्चार्ज हुने भए पनि ओलीको अनिच्छाका कारण रोकिएको छ । यसलाई लिएर विवाद बढेपछि अस्ति बालकोटमा ओली र रावलबीच छलफल भएको थियो ।

१० बुँदे कार्यान्वयन नभए रावलले एमाले छोड्नेसम्मको तयारीका साथ आफू निकट नेताहरुसँग छलफल गरिरहेको भनिएका बेला ओलीले रावलको नाम नलिइकनै पदका लागि पार्टी छोड्नेहरु एमाले हुनै नसक्ने बताउनुभएको हो ।

टिप्पणीहरू