माधव र प्रचण्डमाथि टुनामुना गरेको आरोप

माधव र प्रचण्डमाथि टुनामुना गरेको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि कटाक्ष गर्नुभएको छ । दुवै नेता नेपालको कम्युनिष्ट आन्दोलन सिध्याउन लागिपरेको ओलीको आरोप छ ।

आज गृह जिल्ला झापा पुगेर कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले माधव समूहले जनताको बहुदलीय जनवाद छाडिसकेकाले उक्त समूहलाई कम्युनिष्ट र नेताहरुलाई कमरेड भन्न नसकिने उल्लेख गर्नुभएको हो । नेकपा एमालेको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाउन सहयोग गर्नेहरु कसरी कम्युनिष्ट हुन सक्छन् ? ओलीले नेपाललाई प्रश्न गर्नुभएको छ ।

राजनीतिभन्दा जादूमन्त्र र टुनामुनामा लागेका नेपाल र प्रचण्डहरु एमालेविरोधी र जनताविरोधी कित्ताका मतियार रहेको समेत ओलीको आरोप छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि कम्युनिष्ट आदर्श छाडेर ढुलमुले र अवसरवादी काम गरेको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘दाहाल र नेपाल दुबैले वडाध्यक्ष जित्ने हैसियतसमेत गुमाएका छन् ।’

गृह जिल्ला पुगेर धेरै वटा आरोप लगाउनुभएका ओलीको निश्कर्ष छ, ‘अब दाहाल र नेपाल दुबैले कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न सक्दैनन् ।’

टिप्पणीहरू