मधेस जल्दा हाँसो मरी–मरी

मधेसका जनता बाढीको कारण शोकाकुल बनिरहँदा राजपाका नेता बबरमहलतिर कथा कहानी सुनाएर अट्टहास गरिरहेका भेटिए । पार्टी अध्यक्ष महन्थ ठाकुरले कार्यसमितिका सदस्यलाई यसरी कथा सुनाउँदै हँसाए कि हलै थर्कियो । 

कार्यसमिति सदस्यले आक्रोश पोख्दै भने, ‘वर्तमान अध्यक्ष मण्डल आफूलाई स्वर्गलोकदेखि मृत्युलोकसम्म अजर–अमर बनाउन खोजेको हो ?’ ती सदस्यले आक्रोश पोखेपछि महन्थ ठाकुर, राजेन्द्र महतोहरूले गल्ती स्विकारे । महन्थले भने, ‘हो, हामीले हतारमा विधान बनायौं । निर्वाचन आयोगलाई बेलैमा विधान बुझाउनुपर्ने बाध्यतालाई बुझिदिनुहोला ।’ महन्थले यसो भनिरहँदा राजेन्द्रले टाउको हल्लाइरहे । 

यसपछि केही क्षण रोकिएका उनले कथा हाली–हाली हँसाए । ‘एक जना मान्छे बेहोस भएर मर्न लागेछ । उसलाई आयुर्वेदको चिकित्सककहाँ पु¥याइयो । वैद्यले दिए एक मकरध्वज बुटी । जुन बुटी सेवन गरेपछि कोमामा गएको बिरामीले पुनर्जीवन पायो । त्यसपछि त के चाहियो अजर–अमर बुटी पाएँ भन्दै त्यही मान्छेले फेरि सोही मकरध्वज बुटी खायो ।

तर, बुटी सेवन गरेको केही समय नबित्दै ऊ पुनः बेहोस भयो । आत्तिँदै उनका आफन्त वैद्यको शरणमा पुगे । वैद्यको राय थियो, मकरध्वज बुटी बिरामीले मात्र सेवन गर्न मिल्छ, निरोगीले सेवन ग¥यो भने सिधै माथि जान्छ ।’ कथा टुंग्याएसँगै महन्थले राजपाको विधान पनि उही मकरध्वज बुटीजस्तै भएको उपमा दिँदा हलमा हाँसो गुञ्जिएको हो । निर्वाचन आयोगमा देखाउनकै लागि मात्र विधान बनाइएको र अब छिट्टै संशोधन गरिने आश्वासन उनले कार्यसमितिका सदस्यलाई दिए । यसकै लागि पार्टीले राजनीतिक समिति निर्माण गर्ने तयारी गरिरहेको एक नेताले जनआस्थालाई बताए । अहिले अन्य दल तराईका बाढीपीडितको बस्तीमा मलम लगाउन राहत बोकेर पुगिसक्दा राजपाका नेता भने राजधानीमै विधान संशोधन, नयाँ राजनीतिक समिति निर्माणलगायत विषयमा छलफल गर्दै छन् । सोमबार मध्याह्न जनआस्थाकर्मी राजपा पार्टी कार्यालय बबरमहल पुग्दा नेताहरू चिया–बिस्कुट चपाउँदै मोबाइलमा गेम खेल्न व्यस्त थिए । 

अहिले राजपाको अध्यक्षमण्डलदेखि पहिलो, दोस्रो, तेस्रो तहका नेता र क्याडर राजधानीमै रुमल्लिरहेका छन् । यसबाट पनि राजपाले मधेसका लागि होइन, मधेसका नाममा मात्र राजनीति गरिरहेको प्रस्ट हुन्छ । एमाले र कांग्रेसले आफ्ना सबै सांसदको एक महिनाको तलब बाढीपीडितका लागि दिने निर्णय गरे । 

राजपाकी सांसद डिम्पल झालाई हिजो दिउँसो जनआस्थाको सोधनी थियो, सिंगो तराई डुबानमा पर्दा तपाईंहरू किन त्यता झर्नुभएन ? उनले ‘प्रभु साहहरूको टोली प्लेनमा बाढी प्रभावित क्षेत्रमा जाँदा आफूलाई खबर नगरेको भनी दुखेसो पोखिन् । आक्रोश पोख्दै भनिन्, ‘सरकार बनाउने समयमा हामी लस्कर लागेर समर्थन गर्न आयौं तर अहिले बाढी प्रभावित क्षेत्रमा जाँदा उहाँहरू एक्लै जानुभयो । खबरै गर्नुभएन ।’  

टिप्पणीहरू