​राष्ट्रपतिलाई सराप्ने पत्रकार जेल चलान

राष्ट्रपतिविरुद्ध उछालिएको १६ करोडको गाडी खरिदसम्बन्धी प्रकरणमा सामाजिक सञ्जालमार्फत घृणा–द्वेष फैलाउने पत्रकार सोनुकुमार सुनार जेलचलान भएका छन् । कपिलवस्तुस्थित सउदी डेभलपमेन्ट बैंकद्वारा सञ्चालित मुस्लिम रेडियो हुँदाको स्टेशन म्यानेजर रहेका प्युठानवासी उनी त्यहीँबाट समातेर काठमाडौं ल्याइएका हुन् । असार २९ गते बिहान ११ बजे रेडियोबाट गिरफ्तार गरिएका उनलाई काठमाडौं जिल्ला अदालतको साउन २३ गतेको आदेशअनुसार विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७, ५६ र ७६ बमोजिम ५ वर्ष कैद मागदाबी भएकामा सोको भुक्तानका निम्ति केन्द्रीय कारागार चलान गरिएको छ ।

यस्तै आरोप लागेका काठमाडौं डिल्लीबजारस्थित ट्रिनिटी कलेजका नेविसंघसम्बद्ध बानियाँ थरका छात्र भने हालसम्म फरार रहेको स्रोतले जनाएको छ । राष्ट्रपतिमाथि विषवमन गरेको कारण यी व्यक्तिहरु कानुनको निशानामा परे पनि यो भन्दा गम्भीर प्रकृतिको विद्युतीय कारोबार (साइबर क्राइम) मा संलग्नलाई भने अदालतले त्यत्तिकै छाडिदिने गरेको छ । यसरी नेपालको कानुन सानालाई ऐन, ठूलालाई चैन भनेजस्तै भएको छ । यसको एउटा प्रमाण कुन पनि हो भने अष्ट्रेलिया बस्ने सिरहाका कुमोदकुमार साहले त्यहीँकी एउटी गोरी केटी टेस्सा रामन्लानलाई विद्युतीय माध्यमबाट यौनजन्य हिंसा गरेको र बिहे गर्न इन्कार गरेबापत ‘तँलाई चक्कुले हानेर टाउको छिनाई खोलामा फालिदिन्छु’ भनेको प्रमाणित भएपछि देश निकाला गरेर नेपाल पठाइयो तैपनि मति सुध्रिएन । इन्टरपोलले पनि पिछा गर्नुपर्ने भएपछि उनलाई नेपाल प्रहरीले पक्राउ ग¥यो । उनले आफ्नो गल्ती स्विकारे तर अदालतले छाडिदियो ।

उनलाई काठमाडौं जिल्ला अदालतले जम्मा ३५ हजार मात्र धरौटी लिएर साउन १९ गते मुक्त गरेको हो । त्यस्तै केशमा आफ्नो सौतेनी जेठाजुको सिंगो परिवार नै मिलेर सामाजिक सञ्जालमार्फत अश्लील तस्बिर पोष्ट गरी सविना गौतम नामक युवतीको जीवन बर्बाद पार्न खोजियो । सो अभियोगमा काठमाडौं र मोरङका दिनेश गौतम र उनकी प्रेमिका रिना थापा मगर समातिएका थिए । साउन २७ गते उनीहरू पनि ३५ हजार धरौटीमा छुटेका छन् । यस्तो प्रकृतिको मुद्दा हेर्ने देशभरमा एउटा मात्र निकाय छ, त्यो हो, काठमाडौं जिल्ला अदालत । र, यसले पनि छानिछानी अपराधी छाड्दै छ । श्रीमान्सँगको झगडामा पवित्रा घिमिरेलाई तनाव दिने मकवानपुरका देवराज चौलागाईं र धरानका रञ्जु शाक्य साइबर क्राइमअन्तर्गत पक्राउ परेका छन् । अर्को घटनामा पाँचथरका योगेन्द्र विमली पनि समातिएका छन् ।

यसको चाहिँ मुद्दा पेश हुन बाँकी छ । यसैगरी उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लगायत जनजाति नेताहरुलाई फेसबुकमार्फत् तथानाम गाली गर्ने धादिंगे आत्माराम थपलियाविरुद्ध मुद्दा दर्ता भएको छ । तर, विडम्बनाको कुरा उनी जर्मनीमा छन् । त्यसरी नै कृष्णबहादुर उर्फ (दिदी मीनकुमारी र ज्ञान खड्कासहित) सुशान्त श्रेष्ठलाई आमाचकारी गाली गर्दै पैसा असुल्न खोज्ने गोर्खाका विकास नेपाली पनि पक्राउ परेका छन् । अहिले मानव बेचविखन र बैंक ठगीविरुद्ध सिआईबी सक्रिय रहेको बताइन्छ । खोलो धरौटी राखेर ऋण प्रवाह गर्ने एउटा ठूलो गिरोह बैकिङ कसुरको अभियोगमा समातिन लागेको छ । केन्द्रीय अपराध अनुसन्धान ब्यूरोका निमित्त प्रमुख एसएसपी शेरबहादुर बस्नेत नेतृत्वको टोलीले अहिले तराईमा बाढीले तवाह मच्चाइरहेको कारण त्यहाँको बर्बादी साम्य हुनासाथ उनीहरुलाई मधेशबाटै क¥यापझ्याप पार्ने तयारी गरिरहेको स्रोतले बताएको छ ।
– हरि गजुरेल

टिप्पणीहरू