नेपाल निजामती कर्मचारी संगठन विभाजनको मुखमा

नेपाल निजामती कर्मचारी संगठन विभाजनको मुखमा

नेपाली पेशागत आन्दोलनको जेठो संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजनको मुखमा पुगेको भन्दै पूर्व अध्यक्षहरुले चिन्ता व्यक्त गरेका छन् । सो संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले आगामी असोज २ गते आफू पक्षधर कर्मचारीहरुको भेला डाकेको र सो भेला कुनै हालतमा नरोकिने अभिव्यक्ति दिएसँगै पूर्व अध्यक्षहरुले विज्ञप्ती नै निकालेर संगठनलाई फुटको बाटोमा लाने गरी गरिने क्रियाकलाप संगठनमा आवद्ध कर्मचारी र पूर्व अध्यक्षहरुलाई सह्य नहुने बताएका छन् ।

केपी ओलीनिकट मानिएका केदारप्रसाद देवकोटाले आफू निकटस्थ कर्मचारीहरुको मात्र भेला डाकेको बिषयलाई पूर्व अध्यक्षहरु मोहनकुमार केसी,सीताराम नेपाल,विश्वनाथ प्याकुरेल,भोलानाथ पोखरेल र निवर्तमान अध्यक्ष मोहन घिमिरेले विरोध गरेका छन् । उनीहरुले एक विज्ञप्ती जारी गर्दै भनेका छन्“ संगठनमा रहेको आन्तरिक समस्याको समाधाननिम्ति आपसी छलफल र संवादको माध्यमबाट मात्र निष्कर्षमा पुग्न सकिने हुँदा संगठनद्वारा गरिने भेला वा छलफलमा सबै पक्षको पूर्ण सहभागिता सुनिश्चितताको लागि पूर्व अध्यक्षहरुको तर्फबाट आह्वान गर्दछौं ।”

जारी विज्ञप्तीमा”संघीयतापछि महत्वपूर्ण मानिएको कर्मचारीको मूल कानून संघीय निजामती सेवा ऐन तीन बर्षदेखि अलपत्र परेको,समायोजित कर्मचारीहरुको सेवा,शर्त र हितको बिषयमा बोल्नुपर्ने समयमा महत्वपूर्ण बिषयलाई पन्छाएर अनिर्णित र असान्दर्भिक एजेण्डा बोकी वैधानिक बाटोलाई बेवास्ता गरिएको”प्रति आपत्ति प्रकट गरिएको छ ।

संगठनको विधान अनुसार,सचिवालयको बैठक बसी एजेण्डा पास तथा तय गर्ने र सो एजेण्डासहित केन्द्रीय कार्यसमितिको बैठक अध्यक्षको सहमतिमा महासचिवले आह्वान गर्नुपर्ने भए पनि विधानलाई कुल्चँदै महासचिवलाई थाहै नदिई केन्द्रीय कमिटीको बैठक डाकिएकोप्रति समेत पूर्व अध्यक्षहरुले आपत्ति जनाएका छन् । यो संगठन ०५४ सालमा एमाले फुटेर माले बनेको समयमा समेत एक ढिक्का रहेको थियो ।

लाखौं पेशाकर्मीहरुको छायाँ संगठनलाई जोगाउन र एकढिक्का बनाइराख्न पूर्व अध्यक्षहरुले कर्मचारी,पेशाकर्मी,बुध्दिजीवीदेखि नेताहरु समक्षसमेत अपिल गरेका छन् ।

टिप्पणीहरू