एमालेले गरिमा जोगाउन आज पनि संसद अवरुध्द गर्ने

एमालेले गरिमा जोगाउन आज पनि संसद अवरुध्द गर्ने

सभामुख अग्निप्रसाद सापकोटाले सभामुखभन्दा बढी माओवादी कार्यकर्ताको भूमिका निभाएको भन्दै मुख्य विपक्षीदल नेकपा एमालेले आज पनि संसद अवरोध जारी राख्ने भएको छ । सोमबार सभामुख सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकसमेत बहिष्कार गरेको एमालेले आज पनि संसद अवरोधलाई जारी राख्ने बताएको हो ।

एमालेले आफूले कारबाही गरेका भनिएका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने वा सो गर्न नसके सभामुख आफैँले राजीनामा दिनुपर्ने माग राखेको छ । मुख्य विपक्षी दलले माधवकुमार नेपाल सहितका १४ सांसदलाई कारबाही गरेको पत्र संसद सचिवालयमा १३ दिनसम्म त्यत्तिकै थन्काएर राखेको र एमाले फुटाउने मतियारको रुपमा काम गरेको आरोप सभामुख सापकोटामाथि लगाउँदै आएको छ ।

प्रतिनिधिसभामा एमाले सचेतक शान्ता चौधरी आफ्नो पार्टीको मागबमोजिम कारबाही प्रक्रिया अगाडि नबढाएसम्म संसद चल्न नदिने अडानमा पार्टी रहेको बताउनुहुन्छ । सापकोटाले सभामुखको गरिमा कायम राख्ने कि माओवादी कार्यकर्ता मात्रै बन्ने भन्नेसम्बन्धमा छिटो टुङ्गो लागाउनुपर्ने र यसको निर्क्यौल गर्नुपर्ने बेला आएको चौधरीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘ अहिलेसम्म सभामुख माओवादी कार्यकर्ताभन्दा माथि नउठेकाले एमाले गरिमामय संसदमा सहज तरिकाले उपस्थित हुन नसकेको हो ।’

टिप्पणीहरू