अर्थका कर्मचारी छिन्नभिन्न,एमालेनिकट छानीछानी छरपस्ट

अर्थका कर्मचारी छिन्नभिन्न,एमालेनिकट छानीछानी छरपस्ट

सरकार परिवर्तनसँगै सरकारी कर्मचारी संयन्त्र फेरबदल गरिनु नौलो कुरा होइन । तर,अहिले अर्थ मन्त्रालयमा गरिएको कर्मचारीको पजनीचाहिँ उदेकलाग्दो भएको चर्चा छ । छानीछानी पूर्ववर्ती एमाले सरकार र अर्थमन्त्री विष्णु पौडेल निकटहरुलाई डाँडा कटाउने नियत राखेर सरुवाको प्रपञ्च मिलाइएको स्रोतको दाबी छ ।

अहिले सबैभन्दा तारो सहसचिव दीर्घ मैनाली बनेका छन् । जनार्दन शर्मा अर्थमन्त्री बन्नुअघि मैनाली राजश्व अनुसन्धान विभागको महानिर्देशक थिए । झण्डै अढाई वर्ष विभागमा बसेपछि पौडेलले मन्त्रालयमा झिकाउनुभएको थियो । अर्थमा ल्याएर वित्तीय क्षेत्र व्यवस्थापन महाशाखामा राखियो । समग्रमा उक्त महाशाखालाई अलि जटिल मानिन्छ । वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाले बैंक, बीमालगायतको काम हेर्छ ।

त्यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा रिस उठेका व्यापारी तर्साउन राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएको थियो । त्यो हिसाबले पनि मैनालीलाई मन्त्रालयबाटै आउट गर्ने अनुमान समेत गरिएको थियो । तर, कर्मचारी संयन्त्रको जोडबलले बालबाल अर्थ मन्त्रालयभित्रै एडजस्ट गरी राजश्व प्रशासन तालिम केन्द्रमा सरुवा गरिएको छ ।

मैनालीजस्तै मन्त्रालयमा धेरै बसेका र एमाले भनी चिनिएका उपसचिव पनि अहिलेको पजनीमा परेका छन् । राजश्व महाशाखाका उपसचिव चण्डी घिमिरेलाई शर्मा नेतृत्वको अर्थ प्रशासनले अलि परै पुर्याउने सोच राखेको बताइन्छ ।

सँधै बजेट निर्माणको बेला र आर्थिक ऐन बनाउँदा प्रारम्भिक काम उनैले गर्थे । अहिले मन्त्री शर्मालाई उनीबाट काम गराउन अप्ठेरो र उनलाई त्यहिँ राख्दा पनि गोपनीयता चुहिने देखिएपछि रातारात ठेगान लगाउने भन्दै राजश्व प्रशासन तालिम केन्द्रतिर ठेलिएको छ । मैनाली र घिमिरेलाई एकै पटक सरुवा गरिएको हो । संयोग पनि कस्तो भने यी दुबै सहसचिव र उपसचिव जिग्रीदोस्त हुन् ।

अहिले मैनाली र घिमिरेपछि राजश्व महाशाखाका सहसचिव रामेश्वर दंगाललाई पनि सरुवाको हिट लिष्टमा राखिएको बुझिएको छ । उनलाई पनि एमालेसँग अप्रत्यक्ष रुपमा निकट क्याडर भन्ने गरिन्छ । त्यसैले दंगाललाई कर निर्धारण गर्ने,ऐन बनाउने काममा सहभागी नगराइएको स्रोतको दाबी छ । दंगाललाई जिम्मेवारी नदिई पेण्डुलम बनाउनुको अर्थ प्रशासनिक भाषामा उनलाई पनि हटाउने तयारी हो ।

साधारणतया अर्थ मन्त्रालयअन्तर्गतका कर्मचारीको सरुवा असोजमा हुने गर्छ । दुई वर्ष पुगेकालाई त्यसो गरिन्छ । तर एक महिना पनि नकुरेर उनीहरुलाई बजेट आउनु केही दिनअघि भदौमै फालिएको छ ।

सरकारले गत बिहीबार ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा उल्लेखित बजेटको अंक र कार्यक्रम सबै बाहिरै कोरिएको त्यहिँका कर्मचारीले बताएका छन् । शर्मा अर्थमन्त्री बनेर आएपछि कारबाहीमा परेका कर्मचारीले बजेट सबै बाहिरै बनाएर अघिल्लो दिन राति मात्रै मन्त्रालयको सिस्टममा हालिएको दाबी गरेका छन् ।

उनीहरुका अनुसार सबै बनाएर ल्याएको रेडिमेड बजेट अघिल्लो राति महाशाखामा दिइएको हो । त्यसदिन राति महाशाखामा सीमित कर्मचारी बसेर तोकिएको निर्देशनबमोजिमको रकम र योजना हालिएको आरोप लगाइएको छ । मन्त्री शर्मालगायतको टिमले ‘यो काट्नु, यो थुत्नु,यो घुसार्नु भन्ने खालको निर्देशन दिएको’थियोे ।

टिप्पणीहरू