अमेरिकालाई हराएको नेपाल आज घरेलु टोलीसँग भिड्दै

अमेरिकालाई हराएको नेपाल आज घरेलु टोलीसँग भिड्दै

कुशल र रोहितको ब्याटिङ चल्दा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित गरेको छ । सम्हालिएको ब्याटिङ प्रदर्शन गरेका युवा ब्याट्सम्यान कुशल र रोहितले कीर्तिमान पनि बनाएका छन् । दुबैले आउँदा खेलमा पनि टोलीका लागि अझै मेहनत गर्ने बताए ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्दै सिरिजमा सुखद शुरुआत गरेको हो । २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्दा नेपालले शानदार जित निकालेको हो ।

सिरिजको सुखद शुरुआत गर्ने क्रममा ओपनर कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेका थिए । कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेल्दा ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । युवा ब्याट्स म्यान कुशलले करियरकै पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक समेत बनाएपछि टोलीका लागि खेल्न पाउँदा खुशी लागेको बताए । आफु शतकबाट चुकेको भए पनि टिमको जित निकै महत्वपूर्ण रहेको र त्यसमा नै खुसी रहेको समेत प्रतिक्रिया दिएका छन् ।

सुरुआत राम्रो गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । नेपाली क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो । तेस्रो नम्बरमा आएका रोहित कुमार पौडेलले ६२ रनको अविजित अर्धशतकीय इनिङ्स खेल्दै नेपाललाई जित तर्फ डोर्याएका थिए । यस क्रममा पौडेलले लगातार दोस्रो अर्धशतक पूरा गर्दा खुसी लागेको बताएका छन् ।

यस्तै, नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ले नेपालको दुबै ब्याटिङ र बलिङमा नेपालको प्रदर्शन राम्रो भएको प्रतिक्रिया दिएका छन् । खेलमा ब्याटिङ गर्न सजिलो देखिए पनि रन लिनलाई कठिन भएको कप्तान ज्ञानेन्द्र मल्लको निचोड छ ।

सिरिजअन्तर्गत आजै नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दै छ । कठिन मानिएको टोलीविरुद्ध नेपालले नेपाली समयअनुसार दिउँसो सवा ४ बजे प्रतिस्पर्धा गर्दै छ । लिग–२ को सिरिजअन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो । सोही कारण नेपाली टोली सुखद नतिजाको खोजीमा मैदानमा उत्रिने बताइएको छ ।

टिप्पणीहरू