जुम्लाको अस्पतालमा बिग्रेका उपकरण बन्ने भयो

जुम्लाको अस्पतालमा बिग्रेका उपकरण बन्ने भयो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेका विभिन्न उपकरणहरूको अवस्था बुझ्न तथा बिग्रेका बनाउन राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टोली जुम्ला पुगेर काम थालेको छ ।

कर्णाली प्रतिष्ठान जुम्ला पुगेको राष्ट्रिय आविष्कार केन्द्रका बायो मेडिकल इञ्जिनियर सञ्जयबहादुर सिंह र उमेश किराँतीलगायत ७ जनाको टोलीले प्रतिष्ठानका विभिन्न उपकरणको अवस्था अवलोकन तथा मर्मत सम्भार गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर अर्जुनबहादुर सिंहले दुर्गमका अस्पतालहरूको उपकरण मर्मत तथा अवलोकनका क्रममा सुर्खेत, कालिकोट हुँदै आविष्कार केन्द्रको टोली जुम्ला पुगेको बताउनुभएको हो ।

उहाँले जुम्ला पुगेको टोलीले प्रतिष्ठानका अक्सिजन कन्सन्ट्रेटर तथा ल्याबका गरी दुई तीन वटा उपकरण मर्मत गरिसकेको उल्लेख गर्नुभयो । ‘आइसियु, भेन्टिलेटर, ल्याब, ओटी, भिडियो, अडियो एक्सरेलगायतका विभिन्न मेशिनरी उपकरणको अवलोकन गरेको’ बताइएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टोली जुम्लामै पुगेर उपकरण मर्मत, अवलोकन तथा आवश्यक ज्ञान दिएकोमा धेरै राहत मिलेको समेत प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर सिंहको भनाइ छ ।

दुर्गममै पुगेर यसरी उपकरणको मर्मत गर्दा कर्णाली प्रतिष्ठानलाई ठूलो राहत भएको प्रतिष्ठानका प्रवक्ता डा.रमेश भट्टराईले जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक डा. राजीव शाहले आविष्कार केन्द्रको प्राविधिक टोली जुम्ला आउँदा कर्णाली प्रतिष्ठानलाई धेरै लाभ पुग्ने बताउनुभयो ।

टिप्पणीहरू