संसदमा सधैं खलबल: न बजेट,न छलफल

संसदमा सधैं खलबल: न बजेट,न छलफल

आज मंगलबार दिउँसो पनि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । अघिल्ला पटक हरेक दिनको अन्तरमा बैठक राख्ने गरिन्थ्यो । सर्वोच्च अदालतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीमा आबध्द १४ जना सांसदविरुद्ध हाल्नुभएको रिटको पेशी पनि चढेको चढ्यै छ ।

आइतबार बोलाइएको बैठकसमेत अवरुद्ध भएपछि अदालतलाई समेत हेरेर आज भदौ २९ गते संसद बैठक बोलाइएको अनुमान गरिएको छ । अब आज मंगलबार एकै दिनमा बजेट पेश गरेर संसदबाट पारित गरी शीतल निवासमा स्वीकृतिको लागि पुग्नु असम्भव प्रायः रहेको संसद सचिवालय स्रोतले बताएको छ ।

“एमाओवादीले पनि एमालेका सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा बजेटको ब्रिफकेश नै फोडेका थिए ।”

स्रोतका अनुसार बजेट पास गर्न कम्तिमा पनि संसदमा ७ वटा स्टेप पार गर्नुपर्छ । त्यसको लागि दुई वटा नियमसमेत निलम्बन गर्नुपर्ने हुन्छ । अहिले संसद अधिवेशन शुरु भएको दिनदेखि प्रतिनिधिसभामा भिडन्त भइरहेको छ । त्यसैले बजेटसहित सबै प्रतिस्थापन विधेयक पारित गर्न गाह्रो छ ।

संसद सचिवालयका एक जना अधिकारी भन्छन्, ‘अमेरिकी मोडलको बजेट आउने सम्भावना पनि त्यत्तिकै छ । केही वर्षअघि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा अमेरिकी संसदले बजेट पारित नगरिदिँदा महिनौंसम्म सरकारले बजेट खर्च गर्न पाएको थिएन । त्यसैले केही दिन अध्यादेश खाली राख्ने,बजेट खर्च पनि नगर्ने अनि पछि पास गर्ने एउटा विकल्पको रुपमा पनि सरकारले सोचेको हुनसक्छ ।’

“एमाले सांसदहरुले मर्यादापालकको पाखुरामा टोक्ने, ढाडमा टेकेर उफ्रिने शैलीले पनि उसको ०४८/०४९ सालको सडकका रेलिङ्ग भाच्ने छविलाई सुधार्न नसकेको काँग्रेसीहरुको आरोप छ । “

अर्को विकल्प भनेको संसद अधिवेशन बन्द गरेर अर्को बजेट अध्यादेश जारी गर्ने पनि छ । किनभने आइतबारको संसद बैठकमा पनि बजेटसम्बन्धी कार्यसूची नै थिएन । सरकारले चाहेको भए आइतबार जसरी पनि बजेट अध्यादेश प्रतिस्थापन विधेयक पारित गराउन सक्थ्यो भनिन्छ । तर नचाहनुले उसले विभिन्न विकल्पमा ध्यान दिएको अनुमान गरिएको छ ।

सांसदलाई कारबाही गर्नुपर्नेमा नगरेको र विनियोजन विधेयक प्रस्तुतिमा समेत सभामुखले संसदीय अभ्यासको पालना नगरेको आरोप एमालेको छ । आइतबार अध्यादेश पेश गरेझैँ बजेट प्रतिस्थापन विधेयक पनि सोझै पेश गरिएको उसको गुनासो छ ।

विनियोजन विधेयक दर्ता र वितरणको संसदीय प्रक्रिया अवलम्बन नगरी गुरिल्ला प्रवृत्तिको प्रयोग गरिएको एमालेका सांसदहरुले बताउँदै आएका छन् ।

तर,सत्तापक्ष र माओवादीले भने प्रतिनिधिसभा सञ्चालन नियमावलीमा सभामुखले तोकेबमोजिम सभा सञ्चालन गर्ने भन्ने एउटा आधारलाई टेकेर अहिलेका सबै संसदीय गतिविधि अघि बढेको बताउने गरेका छन् ।

यसअघि तत्कालीन एमाओवादीले पनि एमालेका सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा बजेटको ब्रिफकेश नै फोडेका थिए । तर त्यतिबेला माओवादीले देखाएको व्यवहारझैँ एमालेले यसपटक संसदीय परिपक्वता नदेखाएको सुनिन्छ ।

एमाले सांसदहरुले मर्यादापालकको पाखुरामा टोक्ने, ढाडमा टेकेर उफ्रिने शैलीले पनि उसको ०४८/०४९ सालको सडकका रेलिङ्ग भाच्ने छविलाई सुधार्न नसकेको काँग्रेसीहरुको आरोप छ ।

संसदका जिम्मेवार राजनीतिक दलहरुले कम्तिमा यस्ता आधारभूत पक्षमा इज्जत राख्नुपर्थ्यो भन्नेहरु पनि प्रशस्त भेटिएका छन् । उनीहरुले सभामुखले समेत बोली र व्यवहारमा एक हदसम्म तटस्थताको भूमिका निभाएको देखाउन नसकेको भनेका छन् ।

सभामुखले अरु बेलामा जे गरे पनि कम्तिमा संसद अधिवेशनको समय र महत्वपूर्ण क्षणमा त्यो भूमिका निर्वाह गर्नैपर्ने पूर्वसभामुखहरुको समेत जिकिर छ । उनीहरुका अनुसार हाउस बसेको बेला कार्यव्यवस्था समितिको बैठक राख्ने,विपक्षी दलका प्रमुख सचेतक तथा सचेतकसँग संवाद गर्नैपर्ने उनीहरुको सुझाव छ ।

सभामुख त्यतातिर नलाग्ने अनि एमालेले पनि गुरिल्ला शैलीमा प्रदर्शन गर्ने अवस्थाले संसद निरन्तर अवरुद्ध भएको बताइन्छ ।

टिप्पणीहरू