समुदायमै देखिन थाल्यो कम्युनिष्ट फुटको असर

समुदायमै देखिन थाल्यो कम्युनिष्ट फुटको असर

२०७५ साल जेठ ३ गते दुई ठूला कम्युनिष्ट पार्टीबीच भएको ऐतिहासिक एकता तीन बर्षको वीचमा तितरबितर भइरहँदा त्यसको असर केन्द्रदेखि वडासम्मै गज्जबले परेको छ । यद्यपि,पार्टी एकता भत्काएर फुटमा रमाउन चाहेका केन्द्रीय नेताहरु भने अझै आत्मरतिमा रमाउन छाडेका छैनन् ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ स्थित सुनाचुरी सामुदायिक उपभोक्ता समूहको भदौ २७ गते सम्पन्न चुनावमा कम्युनिष्टहरु सोत्तर भएका छन् । माओवादी केन्द्रको छुट्टै प्यानल,एमालेको छुट्टै प्यानल र काँग्रेसको छुट्टै प्यानल भएर सामुदायिक वनको नेतृत्वका लागि निर्वाचन भएकामा काँग्रेसले प्यानलै जितेको हो ।

महिलालाई अध्यक्षको उम्मेदवार बनाएर अघि बढाएको काँग्रेसले सामुदायिक वनमा जीतसँगै २०४६ सालपछि बल्ल बदला लिन पाएको प्रतिक्रिया फेसबुकमार्फत दिएको छ । कूल १ हजार ६७ मत खसेकामा काँग्रेस समर्थित फूलमाया जिम्बाको ३९६, एमाले र नेकपा (एस) समर्थित सुन्दर लामाको ३७२ र माओवादी केन्द्र समर्थित बाबुलाल रुम्बाको २५२ मत आएको हो ।

रुम्बा यसअघि १३ बर्ष अध्यक्ष भइसकेका व्यक्ति हुन् । कम्युनिष्टहरुको मत जोड्दा झण्डै डेढ गुना मत पुग्छ तर जितेको छ काँग्रेसको प्यानलैले । कम्युनिष्ट एकता चाहेकाहरुका लागि यो अमिलो खबर भएको छ भने पार्टी फुटको असर स–साना इकाइहरुमा समुदाय तहमै पर्न थालेको देखिन्छ ।

टिप्पणीहरू