आज राजधानीमा बैठक धेरै,बिरोध कम

आज राजधानीमा बैठक धेरै,बिरोध कम

आज राजधानीमा विगतका दिनको तुलनामा बिरोध प्रदर्शनभन्दा औपचारिक बैठक धेरै हुने देखिएको छ । आज विभिन्न विद्यार्थी संगठनहरुले सम्मेलन र बैठक गर्ने भएका छन् ।

जसमा अनेरास्ववियुको त्रि–चन्द्र क्याम्पस इकाइले १८ औं क्याम्पस इकाइ सम्मेलन गर्ने जनाएको छ । बिहान ११ बजे त्रि–चन्द्र क्याम्पसमा कार्यक्रम राखिएको छ ।

त्यसैगरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पनि सानोठिमी क्याम्पसमा सम्मेलन गर्ने बताएको छ । उक्त संगठनले १५ औं क्याम्पस सम्मेलन बिहान ११ बजे सानोठिमी क्याम्पस,गोल घरमा हुने जनाएको छ ।

त्यसैगरी अखिल (क्रान्तिकारी) ले नै काठमाडौं महानगर समितिको प्रथम सम्मेलन पनि आजै गर्ने भएको छ । काठमाण्डौं महानगर समितिको प्रथम सम्मेलन ए वान क्याफे एण्ड ब्याङ्क्वेट,शंखमूलमा दिउँसो १ बजे शुरु हुने उक्त संगठनले जानकारी दिएको छ ।

उता, संसदको विधायन व्यवस्थापन समितिको बैठक संघीय संसद सचिवालय,सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने जनाइएको छ । त्यसैगरी, आजै प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ ।

नेपाली काँग्रेसको मुख्य कार्यालयमा हुँदै आएको रिले अनसन तथा धर्ना कार्यक्रम आज पनि बिहान ९ बजेबाट शुरु भएको छ । रौतहटमा क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध रिले अनसन तथा धर्ना कार्यक्रम भएको हो ।

सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगममा त्यहाँका तीन वटा कर्मचारी युनियनले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको भन्दै धर्ना गरिरहेका छन् । आज पनि त्यहाँ बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म धर्ना हुने जनाइएको छ ।

टिप्पणीहरू