बालुवाटारमा साँझको त्यो बैठक

भदौ ५ गते हुने पत्रकार महासंघको चुनावबारे प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँढे चार बजे साँझदेखि राति आठ बजेसम्म गम्भीर छलफल चलेको छ । त्यहाँ भएको छलफलबारे बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले जनआस्थालाई बताए, ‘कार्यसमितिमा दुई तिहाई संख्या काँग्रेसले लिने गरी तालमेल गर्ने निर्णय भएको छ ।’ उनले यतिबेला आफूहरुमाथि चौतर्फी आक्रमण भएको कारण अध्यक्ष माओवादीलाई दिएर भए पनि जानुपर्ने धारणा राखेको सहभागी स्रोतले बतायो । प्रधानमन्त्री देउवाले पावर शेयरिङ भइसकेको र एमालेभन्दा लामो समय सँगै जाने लिबरल पार्टनरको रुपमा माओवादी फेला परेकोले उसैसँग सहकार्यमा जाने कुरा शुरुमै बताएका थिए ।

उनले भने– एक्लै लड्दा हारिन्छ भन्ने रिपोर्टिङ प्रकाशशरणले गर्नुभएको छ । अर्को पटक सबै पद जित्ने गरी यसपटक अध्यक्ष माओवादीलाई छाडेर जानुपर्ने बाध्यता आइलाग्यो । त्यहाँ उपस्थित पत्रकारद्वय अनिता बिन्दु र समिरजंग शाहले ‘अरु पदमा उठ्ने भए हामी तयार छैनौं’ भने । नेपाल टेलिभिजमा कार्यरत शालिक सुवेदीले ‘विचारको लडाईं लड्ने हो, यसमा हारजित हेर्नु हुन्न । एक्लै जान पनि तयार  हुनुपर्छ’ भने । वरिष्ठ पत्रकार किशोर नेपालले, ‘प्रेस युनियनको म्याथम्याटिक्स मात्रले चल्दैन । अनि यस्तो भद्रगोल भेलाले निर्णय गरेर पनि हुँदैन । यसका लागि हार्डकोरहरुको बैठक बस्नुपर्छ ।’ भन्ने विचार राखेका थिए । स्रोत भन्छ, सञ्चारमन्त्री मोहन बस्नेतले चाहिँ, ‘म त भर्खर मन्त्री भएको मान्छे । धेरै कुरा थाहा छैन । मेरो भूमिका के हुन्छ त्यो भन्नुस्, म गर्छु ।’ भन्दै ‘मलाई अन्नपूर्ण होटलको कार्यक्रम भ्याउन हतार छ’ भनेर हिँडे । प्रधानमन्त्रीचाहिँ बाढीको क्षतिसम्बन्धी छलफल गर्न अर्को कोठामा बसेका सुरक्षा निकायका प्रमुखहरुलाई भेट्न बेला बेला जाने आउने गर्थे । प्रेस सल्लाहकार गोविन्द परियार सहभागीलाई बस्ने कुर्सीको जोहो गर्न र पानी पिलाउनमा नै व्यस्त देखिन्थे । 

संयोग कस्तो प¥यो भने आईजी प्रकरणमा देउवाविरुद्ध कलम चलाउनेहरुको त्यहाँ बाहुल्यता देखिन्थ्यो । उपस्थितमध्ये विमलेन्द्र निधि खासै बोलेनन् । पोखराका गंगाधर पराजुलीले चाहिँ ‘मैले अहिलेसम्म अवसर पाएको छैन । मलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष चाहियो’ भन्ने माग राखे । बैठकमा प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, महासचिव अजयबाबु शिवाकोटी, कोषाध्यक्ष सरोज अधिकारी, पत्रकार महासंघका पूर्व अध्यक्षहरु सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झालगायत पोषण केसी, बसन्तप्रकाश उपाध्याय, विपुल पोखरेल, रामजी दाहाल, रामप्रसाद दाहाल र रमेश विष्ट उपस्थित थिए । देउवाको साइडमा रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी र विमलेन्द्र बसेका थिए । यी तीनै जना नेता विपुल र रामजीलाई अध्यक्ष र महासचिव बनाउने लाइनका हुन् । माओवादीसँग तालमेल गर्दा समिरजंगको बाटो छेकिन्छ भन्नेमा कतिपयको हिसाव किताव प्रष्टै देखिन्थ्यो । 

वाम–वाम भिड्ने

पत्रकार महासंघको २५ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि वाम–वामबीचमै मुख्य प्रतिस्पर्धा हुने भएको छ । सोमबार प्रेस चौतारी नेपालले वरिष्ठ पत्रकार तीर्थ कोइरालालाई आगामी अध्यक्षका रुपमा अगाडि सारेको छ भने कांग्रेस–माओवादी गठबन्धनबाट प्रेस सेन्टरका नेता गोविन्द आचार्यको उम्मेद्वारी घोषणा भएको छ । सँगै प्रेस सेन्टरसम्बद्ध महासंघका वर्तमान महासचिव उजीर मगर, प्रेस युनियनसम्बद्ध बलराम बानियाँले पनि दाबी प्रस्तुत गरिसकेका छन् । चौतारीले अगाडि सारेको तीर्थ कोइराला नेतृत्वको गठबन्धनमा विप्लवसम्बद्ध क्रान्तिकारी पत्रकार संगठन, वैद्यसम्बद्ध क्रान्तिकारी पत्रकार महासंघ, नयाँशक्तिसम्बद्ध प्रेस सोसाइटी, राजमोसम्बद्ध प्रगतिशील पत्रकार संगठन र राप्रपासम्बद्ध मिडिया नेपाल सामेल छन् । 

देशभरका १५ सयभन्दा बढी पत्रकारले भाग लिने महाधिवेशनले ४७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गर्नेछ । दुई चरणको स्थानीय निर्वाचनका कारण बैशाखदेखि मिति तोक्दै सार्दै गर्ने क्रममा महासंघको महाधिवेशन भदौमा पुगेको अध्यक्ष महेन्द्र विष्टले बताए । आगामी कार्यसमितिका लागि उम्मेदवारी घोषणाको क्रम पनि ढिलो भएको छ । अहिलेसम्म पत्रकार संगठनहरुले अध्यक्षबाहेकका उम्मेदवार घोषणा गरेका छैनन् । प्रेस चौतारीले भने आज बुधबारदेखि पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने जनाएको छ ।

टिप्पणीहरू