​चकित पार्ने चिनियाँ चाला

चिसो कूटनीतिमा निकै माहिर मानिन्छन् चिनियाँहरु । हुन पनि उनीहरुको एउटा शैली सबैलाई चकित पार्ने खालको रहेछ । पहिला–पहिला आफूकहाँ आउने र आफूले गएर भेट्ने ठाउँका मान्छेलाई मिष्ठान्न भोजन र आकर्षक उपहार दिएर खुशी पार्थे ।

तर, अहिले आफ्नो शैली नै फेरेका छन् । हिजो आज कुनै पनि उच्चस्तरीय चिनियाँ आफ्नो भ्रमण शुरु हुनुअगाडि नै ठूलो संख्यामा व्यापारीहरुको टोली पठाइदिने र उनीहरुले गर्ने व्यापारिक छलफल, सम्झौता, गतिविधि र स्थानीय सामानहरुको खरिदका माध्यमबाट वातावरण आफूअनुकुल बनाउने गर्दा रहेछन् । अहिले चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल आएका छन् । तर, उनीभन्दा दुई दिनअगाडि नै व्यापारीहरुको एउटा टोली काठमाडौं आएर सयभन्दा बढी कोठा कब्जा गरी याक एण्ड यति होटलमा बसेको छ । विभिन्न दशवटा कम्पनीका ५६ जना व्यापारी यसरी उपप्रधानमन्त्री भन्दा पहिले नेपाल आएर सपिङ र सम्झौता हस्ताक्षरमा व्यस्त रहेका हुन् ।

उनीहरु बेइजिङबाट सोझै अलग–अलग उडान मार्फत् नेपाल भित्रिएको बताइन्छ । त्यहाँको बाणिज्य मन्त्रालय  चाउयाङ डिष्ट्रिक्टस्थित परराष्ट्र मन्त्रालयको नजिकै रहेको छ, त्यसले त्यही आसपास कार्यालय खडा गरेका विभिन्न कम्पनीहरुलाई समन्वय गरेर कोटा तोक्ने र यस्ता भ्रमण अगाडि सम्बन्धित मुलुक पठाउने गरेको बेइजिङस्थित स्रोतले बताएको छ । यसरी खटिने व्यापारीहरुले आफूलाई आवश्यक सामान खरिद गर्ने र व्यापारलाई सहज हुने सम्झौताहरु गर्ने म्याण्डेट पाएका हुन्छन् । यसरी भ्रमणको दौरान उनीहरुले खरिद गरेको सामानको भन्सार नलिने, अन्य कर छूटहरु हुने तथा थप सहुलियत पाउने गर्छन् । उनीहरुले किनेर लगेको सामान खपत होस् या नहोस् कुनै मतलब गरिँदैन । अर्थात् यस्तो भ्रमणमा सहभागीहरुले विभिन्न प्रोत्साहन व्यापारिक हिसावले थप ग्रेड पाउने गर्छन् ।

यस्ता व्यापारीहरुको अन्तर्राष्ट्रिय व्यापारको लागि ढोका खुल्ने र आवश्यक ऋण सहायता प्राप्त गर्ने हैसियत वृद्धि हुने गर्छ । यसपटक उपप्रधानमन्त्रीको भ्रमणका दौरानमात्र उनीहरुलाई २० लाख डलर अर्थात् २० करोड रुपैयाँभन्दा बढीको नेपाली उत्पादन खरिद गर्न चीन सरकारले निर्देशन दिएको बताइन्छ । नेपालमा मेशिनरी सामग्रीहरु उत्पादन नहुने भएकाले हस्तकला लगायत  अन्य नेपाली मौलिक र कलात्मक बस्तुहरु खरिद गर्नेछन् । यसले के देखाउँछ भने चिनियाँहरुले त्यत्तिकै अफ्रिका र एसियाका धेरै मुलुकहरुमा व्यापारिक आधिपत्य कायम गरेका होइन रहेछन् । उनीहरुको कला बेग्लै, चाला नै फरक खालको ।

टिप्पणीहरू