अदालततिरै जम्मै ओइरिएपछि…

अदालततिरै जम्मै ओइरिएपछि…

पुस ५ पछि देशमा जे–जे भयो र भइरहेको छ, नेता र राजनीति भाँडिएर मुद्दाको चाप बढ्दा त्यसमा अदालत जिम्मेवार छ । गत शुक्रबार एमालेसम्बद्ध पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पिपिएलए) को एकपक्षीय भेला बोलाइयो । त्यसका अध्यक्ष रुद्र नेपाल मध्यपन्थमा लागेका थिए ।

एमाले ०७५ जेठ २ मा हुँदाको हिसाबले रघु पन्त मोर्चा इञ्चार्ज हुन् । अध्यक्ष र मोर्चा इञ्चार्जलाई थाहै नदिई बोलाइएको भेलामा अध्यक्ष केपी ओली प्रमुख अतिथि हुने गरी निम्तोपत्र छापिएको थियो । तर, रुद्रले विज्ञप्ति निकालेर अवैध भेला भनिदिए । माधव नेपालको साथ छाडेका ९ स्थायी कमिटी सदस्यभित्रका रघु पन्तले पनि त्यसमा आपत्ति जनाए । अनि, ओली गएनन् ।

तर, ओलीपक्षीय वकिलहरुले भेलाचाहिँ मज्जाले चलाए । भेला भएकै दिन रुद्रकी पत्नी तथा बागमती प्रदेश सांसद मीना ज्ञवालीले हेटौंडा पुगेर आफूलाई नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराइन् ।

कानुन व्यवसायीमध्ये एकीकृत समाजवादीको पक्षमा शम्भु थापा, गोविन्द बन्दी, सुरेन्द्र थापा, सर्वोच्च बारका पूर्वअध्यक्ष खगेन्द्रप्रसाद अधिकारी, चन्द्रकान्त ज्ञवाली, हरि उप्रेती, पिपिएलएका सचिव नारायण देवकोटा, कोषाध्यक्ष डेकेन्द्र सुवेदीहरु छन् ।

शंकर सुवेदीसहितका तीन–चारजनाले केही दिनमा खुल्ने भनेका छन् । ल क्याम्पसका धेरैजसो पूर्वसभापति एसतिरै छन् । ०४४ का सभापति अच्युत मैनाली, ०४९ का कर्ण थापा, ०५३ का हिक्मत कार्की ओलीपट्टि छन् । तर, त्यसपछिका बसन्त बस्नेत, टेकप्रसाद चौलागाईं, होम दोङ, चन्द्र शाही, गुणराज आचार्य नयाँ पार्टीतिर लागे ।

सभापतिमध्येका नवराज थपलिया न्यायाधीश भएका कारण खुल्ने कुरा भएन । पहिला वामदेवको मानिने रविनारायण खनाल, शान्तिदेवी खनाल, भोजराज आचार्यहरु ओलीतिर गए । जनमोर्चा पृष्ठभूमिका बद्री पाठक, उषा मल्ल, पूर्वमाओवादी रमेश गुरागाइँ, पूर्वमसाल केदार गुरागाइँहरु ओलीतिर रमाए ।

वकिलमात्र हैन, बुद्धिजीवी फाँटका कतिपय व्यक्ति केपीको बेइमानी, माधवको इमान र समर्पणसँग सहमत भएर पनि पार्टी टिक्ने विश्वास गरिरहेका छैनन् । त्यसैले कता लाग्ने भन्ने द्विविधामा छन् । अर्कातिर, तल्ला तहमा काम गर्ने ओली पक्षकै मान्छेलाई ओलीका कारण पार्टी फुट्यो भन्ने परेको छ ।

१० बुँदेवाला ९ भाइ पनि त्यही भन्नेमा छन् । उनीहरु भन्छन्, मावध एमालेमै रहिरहेको भए सबै मिलेर आगामी महाधिवेशनबाट ओलीलाई हटाउन सकिन्थ्यो तर अब त्यो सम्भावना रहेन ।

टिप्पणीहरू