७० कटेका नेता,ज्यादाचाहिँ त्यता कि यता ?

७० कटेका नेता,ज्यादाचाहिँ त्यता कि यता ?

हिजो मात्रै ७९ बर्षमा प्रवेश गर्नुभएका प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी १४ औं महाधिवेशनमा सभापति पदमा पुनः उम्मेदवारी दिने पक्का छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका धेरै नेता भने ७० वर्षे उमेर हदका कारण पार्टीको सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने अवस्थामा पुग्नुभएको छ ।

संसदको सबैभन्दा ठूलो दल एमालेको विद्यमान विधानबमोजिम आगामी दशौं महाधिवेशनपछि केही वरिष्ठ नेता बिदा हुने पक्का छ । तर, यसबीच पार्टीको विधान महाधिवेशन डाकिएकाले उक्त व्यवस्थामा पुनरावलोकन हुने सम्भावना पनि उत्तिकै छ ।

नेकपा एमालेको केन्द्रीय कमिटीमा ओैसत ६० वर्ष उमेर हाराहारीका नेताहरु धेरै छन् । आगामी नेतृत्वका लागि प्रोजेक्सन गरिएकाहरुमध्ये उपाध्यक्ष भीम रावल,महासचिव ईश्वर पोखरेल अहिले नै ६५ वर्षभन्दा माथिको उमेर समूहमा पर्नुहुन्छ ।

रावलको उमेर ६६ वर्ष र पोखरेल ६५ वर्ष भइसक्नुभएको छ । अहिले शीर्ष नेतृत्वमध्ये धेरैले एक कार्यकाल पार्टी राजनीतिमा सक्रियता देखाउन पाउने अवस्था छ ।

जसमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली पनि पर्नुहुन्छ । यसैगरी अन्य व्यवस्था नभएमा अनुशासन आयोग प्रमुख अमृतकुमार बोहोराले दशौं महाधिवेशनबाट अनिवार्य अवकाश पाउने निश्चित छ ।

अनिवार्य अवकाशको सूचीमा रहेका अर्का नेतामा केशव बडाल पनि हुनुहुन्छ । दुवैको उमेर हाल ७३ वर्ष पुगेको छ । नव महाधिवेशनको पाँच वर्षभित्र १०औं महाधिवेशन भएको भए बडाल र बोहोराले तीन वर्षअगाडि नै अनिवार्य अवकाश लिनुहुन्थ्यो ।

यसअघि तत्कालीन उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा पार्न नेकपा बिधानबाट ७० वर्षे उमेर हद हटाउनु भएका अध्यक्ष ओलीले उमेर हदलाई कार्यान्वयनमा लैजाने गरी हालको व्यवस्थालाई अघि बढाउनुभएको बताइन्छ ।

गौतमले एमाले छाडेपछि सो व्यवस्था सहज तरिकाले कार्यान्वयन हुने एमाले नेताहरुले बताएका छन् । हुन तः अध्यक्ष ओली आफैँ पनि ७० को डिलमा हुनुहुन्छ । हाल ६९ वर्षमा दौडिरहनुभएका ओली यसै वर्ष महाधिवेशन गराएर एमालेको पुनः अध्यक्ष बन्नेमा कुनै दुईमत छैन ।

टिप्पणीहरू