हाकिम साब ! शौचालयसम्म गाडी जाँदैन ? « Jana Aastha News Online
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022

हाकिम साब ! शौचालयसम्म गाडी जाँदैन ?

प्रकाशित मिति :  १५ श्रावण २०७४, आईतवार १८:२८


  • यमुना अर्याल (काफ्ले)

एक जना अवकाशप्राप्त उच्चपदस्थ सरकारी कर्मचारी लुरुलुरु हिँडेको देखियो । चार/पाँच महिनाअघिसम्म हाकिम सा’बले शानले सरकारी गाडीमा एसी खोलेरै धुवाँधूलो केही नखाइकन बडो आनन्दले यात्रा गर्थे । ड्राइभरलाई ल अहिले यो ठाउँमा जाने भन्ने आदेश दिएर सरर्र हुइँकिन्थे । पदमा रहुञ्जेलसम्म आफन्त, इष्टमित्रले पनि सरकारी सुविधाको निकै अनुभव गर्न पाए । एउटा गाडी श्रीमती, छोराछोरी र अन्य नजिकका आफन्तका लागि पेवा बनाएका थिए । हाकिम्नीको डाँको ठूलो हुन्थ्यो ।

 हाकिमले बरु अफिसको जरुरी मिटिङ छाडे होलान् तर श्रीमतीले भनेका बेला गाडी कहिल्यै छुटाइनन् । मलाई एसी भएको गाडी चाहिन्छ, गाडीमा लिन आउने भन्दै छोराले समेत थर्काउने… । छोरो ल्याइसकेर छोरी लिन जानुपर्ने, बिहान पनि पहिले छोरो पु¥याएर छोरीलाई स्कुल पु¥याउनुपर्ने, छोराछोरी स्कुल पु¥याइसकेर हाकिमलाई अफिस ल्यायो फेरि हाकिम्नीलाई कहाँ–कहाँ जान मन लागेको छ, त्यहाँ–त्यहाँ पु¥याउनुपर्ने । तेल त दिनमै कति सकिन्छ सकिन्छ ? सरकारी सम्पत्ति हो जति लुटे पनि कसैले केही भन्दा रहेनछ । बाउ पदमा हुन्जेल एसी  गाडी चढ्ने छोराछोरीले बाउको जागिर सकिएपछि कस्तो गाडी चढ्दा हुन् कुन्नि ? दुई पाइला हिँड्दा पनि इज्जत नै गएजस्तो ठान्ने हाकिम्नी कुन गाडी चढेर हिँड्दी हुन् ? रिटायर्ड भएपछि तिनै हाकिम सा’ब टेम्पु चढेर, झोला बोकेर लुरुलुरु हिँडेका देखिन्छन् । एउटा मुठो साग किन्न, फोहोर पाल्न, एउटा पानीको जार किन्न जाँदासमेत सरकारी गाडी चढ्नुपर्ने, अचाक्ली गर्नुको पनि हद हुन्छ नि ! आफूले पैसा तिर्नुपर्दा ज्वरो आउने, दुई÷तीन सय खर्च गरेर ट्याक्सीमा हिँड्न पनि धौधौ मान्ने यस्ता हाकिमले सित्तैमा पाए भने के कुरा गर्नु र ? मिल्ने भए भान्सामा खान जाँदा पनि गाडीमै जान्छन् होला । गेटसम्म सानो गल्ली भएर गाडी मोड्न नमिल्ने ठाउँ रहेछ र दुई मिनेट हिँड्नुप¥यो भने आकाशै खसेजस्तो हुन्छ । शान पनि कति देखाउनुपर्ने होला ?

सरकारी सुविधाको दुरुपयोग नगर्ने महाशय त औंलामा गन्ने जति पनि छैनन् होला । सरकारी सुविधाको गाडी कार्यालयको कामको प्रयोजनका लागि दिइएको हो, व्यक्तिगत कामका लागि होइन भन्ने सोच भएका हाकिमसाबहरू छैनन् भन्दा पनि हुन्छ । हामी सामान्य नागरिक हजार १५ सय खर्च गरेर मन्दिर दर्शन गर्न जान सक्छौं भने त्यत्रो उच्च पदमा आसीन हाकिम साबहरू  बिदाको दिन गाडीको पास बनाएर कार्यालयको गाडीमा मन्दिर गएको देख्दा पो अचम्म लाग्छ । कार्यालयको कामको सिलसिलामा बाटो पर्दा, बाटोमा कोही आफन्त, चिनजानका व्यक्ति भेटिँदा ल्याउने, लैजाने कुरा सामान्य हो तर कामको बहाना देखाउने तर आफन्त ल्याउने, लैजाने, बाटोमा गाडी बिग्रियो भने अफिसको कामले फलानो ठाउँमा जाँदै गर्दा बिग्रियो भनेर सरकारी रकम असुल्ने निकै घटिया सोच हो । आफ्नो खल्तीको एक रुपैयाँ खर्च गर्न हात काम्ने तर सरकारी सम्पत्तिमाथि ब्रह्मलुट गर्दा अलिकति पनि खिन्न नलाग्ने बडो अचम्मको संस्कार छ हामीकहाँ ।
 
केही दिनअघि एक जना सरकारी हाकिम सा’बका ड्राइभरसँग बाटोमा भेट भयो । शनिबारको दिन, सरकारी गाडी हुइँकाउँदै हतारहतार आइरहेका चालक पंक्तिकारलाई चिनेपछि एकैछिन रोकिए । बिदाको दिन कहाँ गएर आउनुभएको दाइ ? मेरो प्रश्नमा दिक्क मान्दै जवाफ फर्काए, ‘हाकिमका शाखा सन्तानलाई माइती, ससुराली कहाँ–कहाँ पु¥याउनुपर्ने भन्ने आदेश थियो त्यहीँ पु¥याएर आ’को नि !’ काठमाडौंबाट हाकिमका श्रीमती, साली, छोराछोरी बोकेर उपत्यकाबाहिर गएका रहेछन् । हाकिमका आफन्तलाई पु¥याएर फर्कंदा बीच बाटोमा गाडी बिग्रिएछ । वर्कसपमा गाडी मर्मत गरेर काठमाडांै फर्किएछन्, फर्किएको केही दिनमा फेरि गाडी बिग्रियो ।

गाडी मर्मत गरेपछि फेरि भेट भयो, सुनाए, ‘सरकारी सम्पत्ति हो, जति लुटे पनि कसैले केही भन्दैन । हाकिमका आफन्त बोकेर जाँदा बिग्रेको गाडीको पैसा फिल्डको कामले साइड अफिसमा जाँदा बिग्रेको भनेर ९० हजारको बिल अफिसबाट तिर्न लगाए, आफूलाई थाहा छ नि, थाहा भएर के गर्नु ? पावरको अगाडि कसैको केही लाग्दैन, धेरैचोटि यस्ता घटना भइसके, कसैले केही भन्न, गर्न सक्दैनन् ।’ । जागिर सकिएपछि दुई सय तिरेर ट्याक्सीमा चढ्न लोभ गर्ने यस्ता महाशयहरू पदमा हुञ्जेलसम्म ब्रह्मलुट गर्दा रहेछन् ।

सबैभन्दा दुःखी पेशा हाकिमका ड्राइभरको रहेछ ‘आज बिदाको दिन हो, घरपरिवारसँग बसौँ, रमाइलो गरौँ भन्ने सोच्यो बिहान पाँच बजे नै फोन आउँछ, आज बिहान मेरा फलाना आफन्त आउँदै छन् तिमी त्यहाँ गएर फलानो ठाउँसम्म पु¥याइदेऊ भन्छन् । हाकिमले भनेपछि नमान्ने कुरा भएन, दुई पाइला हिँड्न पनि अफिसकै गाडी चाहिएको देख्दाचाहिँ चाँडै जागिर सकिए पनि हुन्थ्यो भन्ने लाग्छ, कहिलेकाहीँ त’ उनले बिलौना पोखे । यी उच्च ओहोदामा बसेका हाकिम सा’बहरू पदमा रहुन्जेलसम्म सरकारी सवारी साधनको यति ब्रह्मलुट गर्छन्, मिल्ने भए भान्सा कोठा र शौचालय जाऊआऊ पनि कार्यालयकै गाडीमा गर्दा हुन् । अलिकति नैतिकता र इमानदारी भन्ने शब्द हुँदो हो त यतिसम्म गिरेर कसैले सरकारी सुविधाको दोहन गर्ने थिएन । केही समयअघि एउटा सरकारी कार्यालयका सहयोगीकी श्रीमती बिरामी परेको खबर आयो । हाकिम सा’बलाई बिन्ती बिसाए, ‘सर मेरो घरमा श्रीमती बिरामी परी, पब्लिक गाडीमा जाँदा धेरै समय लाग्छ, तुरुन्तै हस्पिटल ल्याउनुपर्ने भयो, एकैछिन सरले गाडी मिलाइदिन सक्नुहोला ?’

 हाकिम सा’बको मन पग्लेन, उल्टै थर्काए, ‘आधा घन्टामा मलाई मिटिङमा जानै पर्ने छ अरू केही व्यवस्था गर… ।’ अफिसमा चार÷पाँचवटा गाडी हुँदा पनि एउटा कर्मचारीले सुख पाएन । अँध्यारो मुख लगाएर ट्याक्सी चढी श्रीमतीको उपचारका लागि हतारहतार घरतिर लागेका तिनै कर्मचारीले बाटोमा हाकिमको गाडी देखे । यसो सिसाबाट नियालेर हेर्दा त आधा घन्टामा मिटिङमा पुग्नुपर्ने हाकिम साब थिएनन्, पत्नी र अन्य महिला रंगीचंगी भएर गाडी भरिएको ।

अर्को एउटा सरकारी कार्यालयका हाकिम कतै मिटिङमा व्यस्त थिए होला, ड्राइभरको मोबाइलमा घण्टी बज्यो । नचिनेको नम्बर आएकाले एकैछिन फोन उठाएनन्, फेरि घन्टी बज्यो, दोस्रोचोटिमा हेलो… मात्र भनेका थिए, उताबाट महिलाको चर्को आवाज सुनियो । तैँले मेरो फोन नउठाउने ? मैले दुई÷तीनचोटि गर्नुपर्ने तँलाई फोन ? एकोहोरो आवाज आयो, ड्राइभरले को बोल्नुभएको भन्दै  थिए, झनै ठूलो आवाजमा महिला पड्किन थालिन्, तँलाई जागिर खाने मन छ कि छैन ? भोलि पनि जागिर खान मन छ भने बिहान भनेको ठाउँमा तुरुन्त आइज नत्र… भोलिदेखि तेरो जागिर चट्…कुरेको आधा घन्टा भइसक्यो, फोन गर्दा नउठाउने, उल्टै को बोलेको पो भन्छ लाज नभएको ? म हाकिम्नी बोलेको अब त चिनिस् ? ज्यालादारीमा काम गर्न थालेको एक साता भएको ड्राइभरको होसहवास उड्यो । बिहान हाकिमलाई अफिसमा लिएर आएको हुँ, हाकिमले केही भनेका छैनन्, त्यही हाकिमकी बूढीले थर्काउँछे नानाथरी भनेर…। नचिनेपछि चिनिन भन्न पनि नपाउने ? हाकिमको पो ड्राइभर हुँ त त्यसकी स्वास्नीको पनि ड्राइभर हुँ र ? जागिर नभए नहोस् हातमा सीप छ अर्को पनि काम पाइन्छ यस्तो हप्कीदप्की सहेर बस्नेवाला छैन । सिधै हाकिमलाई फोन गर्छु भन्दै डायल गरेछन् । हाकिमले सानो स्वरमा फोन उठाए र भने, म आधा घण्टापछि बाहिर निस्कन्छु अहिले मिटिङमा छु फोन राख…

उता हाकिम मिटिङमा छु भन्ने यता हाकिम्नीले नानाथरी भनेर थर्काउने, बिलखबन्दमा झोक्राएर बसेका चालक रहेकै कुर्सीमा आधा घन्टापछि हाकिम आइपुगे । अघि किन फोन गरेको तिमीले ? म मिटिङमा थेँ के प¥यो भन त ? हाकिम त ठिकै हुन्, हाकिम्नीको पारा देखेर एक सेकेन्ड पनि जागिर खाने मन छैन । एक मन त के भनौंजस्तो पनि लाग्यो, अर्को मनले सोच्यो अघि जे–जे भनेकी थिई हाकिम्नीले सबै भनिदिन्छु भन्ने पनि लाग्यो । केही सोचेर झोक्राएको देख्दा हाकिमले फेरि सोधे, के भयो भन न, किन नबोलेको ? आँट गरेरै हाकिम्नीले जे–जे भनेकी थिइन् सबै बताए । हाकिमले एकोहोरो ड्राइभरको कुरा सुनेपछि पो आफ्नो मोबाइल हेरे, आठ÷नौ पटक फोन आएको रहेछ, श्रीमतीको । मिटिङमा भएकाले उठाउन पाएनछन् । आज जेठानका छोराको पास्नीमा जाने कार्यक्रम थियो, सवा एक बजे गाडी पठाइदिनू भनेकी थिइन्, भुसुक्कै बिर्सेछु अब बर्बाद भयो, अर्को गाडी बिग्रेर बनाउन दिएको छ, एउटा गाडी हुँदा फसाद प¥यो…। मेरो फोन उठेन भने ड्राइभरलाई गर्नू भनेर तिम्रो नम्बर देको थिएँ … एकैछिन हाकिम सा’बले गम खाँदै सोचे ।
 चालककै सामुन्नेबाट हाकिमले श्रीमतीलाई फोन लगाए उठेन, धेरै पटक लगाएपछि श्रीमतीको रिसले नेटो काटिसकेको थियो ।  हाकिम्नी भएर लोकल गाडीमा जानुपर्ने भयो होइन ? बाटोमा निस्केर कुर्दाकुर्दा न तपाइको गाडी आउने न फोन उठ्ने ? यस्तै हुन्छन् हाकिम ?  तपाईंको गाडी तपाईं नै चढ्नोस् भन्दै बम्किएर फोन राखिन् ।

सरकारी कर्मचारीलाई प्रयोजनका लागि कार्यालय समयभित्र दर्जा हेरेर सुविधा उपलब्ध गराइएको हुन्छ । तर, नियम एकातिर, वास्तविकता अर्कैतिर देखिँदो रहेछ । अनुगमन कसले गर्ने ? पाएसम्म सबैलाई लुट्नै हतार हुन्छ । नियम कसले मान्ने ? सकेसम्म सबैलाई नियम मिच्नमै आनन्द आउँछ । ऐनकानुन कसलाई लगाउने ? सानालाई ऐन र ठूलालाई चैन भएको समाजमा । लाज, शरम र अलिकति इज्जतको ख्याल राख्ने नियत यदि कोही सरकारी कर्मचारीप्रति हुन्छ भने यतिसम्म गिरेर कसैले सरकारी सुविधाको दुरुपयोग गर्दैन । अन्त्यमा भन्नै मन लाग्यो, हाकिम सा’ब ! मिल्छ भने शौचालय र भान्सासम्म जाऊआऊ गर्न पनि गाडीको व्यवस्था गर्नुहोस्, आँगनसम्म, घरको ढोकासम्म त गाडीमै जाऊआऊ गर्नुहुन्छ तर ढोकाभित्र छिरिसकेपछि घरको सिँढीमा कसरी तल–माथि गर्नुहोला ? हाकिम्नीहरू श्रीमान् पदबाट हटेपछि कसरी तरकारी किन्न जानुहोला ? कसरी माइती, इष्टमित्र, आफन्तकोमा जानुहोला ? भोजभतेरमा कसरी जानुहोला ? पदको अति दुरुपयोग घातक नै हुन्छ भन्ने कुरा पदमा बस्ने, पदमा नबसीकनै उपभोग गर्न खोज्नेहरूले बुझिदिए कस्तो हुने थियो होला ? 


प्रतिक्रिया दिनुहोस !