चिनेको भन्दा किनेको पक्का « Jana Aastha News Online
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022

चिनेको भन्दा किनेको पक्का

प्रकाशित मिति :  १५ श्रावण २०७४, आईतवार १८:२४


  • संकेत कोइराला

एउटा मुसाले हीरा निलेछ । मालिकले सिद्धहस्त शिकारीलाई त्यो मुसा खोजेर मार्ने कामको जिम्मा दिएछ । सिकारी मुसाको खोजीमा जाँदा देख्यो– तिनीहरू हजारौंको झुण्ड बनाएर बसेका थिए । तर, त्यही झुण्डबाट छुट्टिएर एउटा मुसा अलग्गै बसेको छ । शिकारीले हीरा निलेको ठोकुवा गर्दै अलग्ग बसेको मुसालाई च्याप्प समात्यो । यो देखेर अचम्मित हुँदै हीरा मालिकले सोध्यो– ‘यत्रा हजारौं मुसाको भीडमा तिमीले यही मुसाले हीरा निलेको भनेर कसरी चिन्यौ ?’

शिकारीले जवाफ दियो– ‘जब मूर्ख धनबान बन्छ, ऊ यसरी फुल्छ कि अरूसँगको मेलमिलाप नै छाडिदिन्छ ।’

चूडामणि शर्मालाई अख्तियारले यस्तै हीरा निलेको एक्ले मुसाजस्तो अवस्थामा भेटेर अदालत बुझायो । थाहा छैन– अदालतले हीरा भेट्ने हो कि धानचरीका नाममा सौ खत मिनाहा भन्ने हो । चूडामणि आपैंmमा गलत होइनन् । गलत त यस्ता बिरुवा उत्पादन गर्ने नर्सरी हो । दशैंको टीका लगाउँदा चूडामणिलाई उदाहरण दिएर आफ्नो स्वधर्ममा कहिल्यै सम्झौता नगरेको छोरालाई अनैतिक काम गर्न उक्साउने बाउहरू यो देशमा कति छन् ? सर्वोच्च अदालतका निष्ठावान र इमानदार पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानको इतिहास घोकाएर आफ्नो सन्तानलाई राजहाँस बन्न सल्लाह दिने कति बाउका संकल्पहरू अहिले धर्मराएका छन् ? भगवान शिव, राम, हरि, सीताजस्ता सत्चरित्रवान देवताको नाम राखेर आफ्नो सन्तानको अनुहारमा त्यस्तै पराक्रम खोज्ने कतिका अभिभावक फाटेको टोपीले पसिना पुछ्दै सपनाको खाडलबाट निस्कने प्रयास गर्दै होलान् । कांग्रेस नेता रामचन्द्र पौडेलका बाले घाँटी–घाँटीसम्म रामायण कण्ठ गरेर आफ्नो उत्तराधिकारीबाट रामराज्यको राम कल्पना गरे होलान् । भगवान रामचन्द्रको रामराज्य यस्तो विधिमा चलेको थियो कि अपराधी आपैंm सरासर जेल जान्थ्यो । शिरमा एउटा रौं फुल्यो भने बाउले छोरालाई गद्दी हस्तान्तरण गथ्र्यो । रामचन्द्रहरूले चलाएको राज्य यस्तो अनौठो परिदियो कि ७५ वर्ष पुग्न लाग्दा पनि लोभले छाडेको छैन ।

हाम्रा नेता सर्पको मुखमा परेको भ्यागुतोजस्ता भएका छन्, जो कालको मुखमा पुग्दा पनि किरा–फट्याङ्ग्रा भोजन गर्न चुक्दैन । समय यस्तो शक्तिशाली वस्तु हो, जसले सत्यबाहेक संसारका सबैथोक पखालेर लैजान्छ । जो मानिस जुन समयमा जन्मिन्छ, त्यो नै उसको समय हो । यदि समय बलवानले ठेक्कामा लिन सक्ने भइदिएको भए महाभारत, बेद, पुराण, रामायण लेख्ने ती कलमबाजले किन पो यो संसार छाड्न मान्थे होलान् र ? मानिसको जिन्दगीलाई दुईदिने त्यसै भनिएको होइन । एकदिन अनुकूल, अर्को दिन प्रतिकूल हुन्छ । अनुकूलमा जमिन नछाड्नु र प्रतिकूलमा धैर्य नगुमाउनु त्यसको मूल मर्म हो । जबसम्म पाप पाक्दैन, तबसम्म जताततै हरियाली छाउँछ । आपूmलाई मैमत्त शक्तिशाली लाग्छ । समयको चक्र जब अर्को गतिबाट चल्छ नि, त्यसबेला अक्करेभीरको यात्रा पनि फिक्का लाग्छ । यो कसैलाई सोधेर आउँदैन । न भिसा, पासपोर्टकै दरकार पर्छ । हरेक मानिसको फल्ने, फुल्ने, झांगिने एउटा आयतन हुन्छ । वीरबल बुद्धिमान थिए तर बुद्धिको आडमा राजा बन्न सकेनन् ।

राजा हुने बाटो त तिनै मूर्ख भनिएका अकबरले समातेका थिए । पदमा बस्दा हेक्का राख्नुस्– तपाईंसँग ल्याण्डरोभर होस् या साइकल आखिर कुदाउने बाटो उही हो । पिलपिले घडी लाउनुस् या रोलेक्स– समय उही छ । मोबाइल जतिसुकै दामी बोक्नुस् न फोन गर्ने व्यक्ति फेरिने होइन क्यारे ! तपाईं जहाजको इकोनोमी क्लासमा यात्रा गर्नुस् या बिजनेस– गन्तव्य पुग्ने समय उही हो । मान्छेको चाहना– उड्न पाए हुन्थ्यो तर चराको चाहना आफ्नै घर भए हुन्थ्यो । फरक यत्ति हो । प्लम्बर जतिसुकै दक्ष भए पनि आँखाबाट झरेको आँशु रोक्न सक्ने तागत ऊसँग हुँदैन । अर्को सत्य मलामी र जन्ती हिँड्ने बाटो अलग हुन्न । मानिसजस्तै प्रकृतिका अन्य संरचना जीवजन्तुले पेटभर खान्छन्, भोलिको चिन्ता गर्दैनन् । मानिस मात्र त्यो प्राणी हो, सन्तान दर सन्तानको अनन्त रहर मेटाउन अहिले लागिपर्छ । उस्तै परे गर्भमा नरहेको शिशुको चिन्ता गर्छ । तपाईंले खान नपाएर आजसम्म एउटा जंगली जनावर म¥यो भन्ने खबर सुन्नुभएको छ ?

सरकार चलाउनेहरूले नेपालमा बारम्बार दुईवटा कामको अभ्यास गर्छन्– एउटा निर्देशन दिने र अर्को निरन्तर बैठक बस्ने । निर्देशन दिनेले दिन्छ, सुन्नेले सुन्छ । न निर्देशन दिनेलाई दिएको निर्देशन पालना भए नभएको खोज्ने फुर्सद छ, न निर्देशन पाउनेले पालना गर्नुपर्छ भन्ने बाध्यता नै छ । यो क्रम दशकौंदेखि संस्कृतिका रूपमा विकास भइरहेको छ । मुलुक आइफोन पुस्तामा पुग्दा पनि जंगबहादुरले बनाएको मुलुकी ऐन कानुनको मेरुदण्ड भएर उपस्थित छ । जिब्रोमा अंग्रेजी झुन्डिएर के गर्नु, कालो बिरालोले बाटो काटेका नाममा स्वस्ति शान्ति गराउनेहरू झन् बढेका छन् । चलनका नाममा साउन महिनामा कपाल नकाट्ने, साउने पानी छल्न बुहारी माइत कुद्ने क्रम रोकिएको छैन । मंगलबार र शुक्रबार अशुभ हुन्छ भनेर घरको चोटा नकाट्नेहरू नछाँटिदा हवाईजहाज कम्पनीहरूले सहुलियत टिकटको उर्दी लाउनुपरेको छ । त्यसैले संसारमा कसैले नगरेको नयाँ काम गर्छु भनेर उचालिनुको कुनै तुक छैन ।

हेर्नुस् त नेपालमा १० वर्षमा ११ सरकार फेरिए । ती सबैको पहिलो कर्तव्य काम नभएर निर्देशन दिने हो । पद बहाल हुँदा निर्देशन, निस्कँदा टिभीबाट जनताका नाममा संबोधन । अनि पदमा जाँदा उत्साह, झर्दा बिलाप । कुर्सी पाउँदा जनता र लोकतन्त्रको सम्मान, कुर्सी खोसिँदा जनताको अधिकारमा कुठाराघात । राजनीतिमा पात्र फेरिए पनि प्रवृत्ति नफेरिएका उदाहरण हुन् यी । राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट हुन्छ । त्यहाँबाट प्रधानमन्त्रीले बोकेर फर्किने कोसेली भनेको फगत निर्देशन हो । राष्ट्रपतिले प्रधानमन्त्री, प्रधानमन्त्रीले मन्त्री, मन्त्रीले सचिव, सचिवले सहसचिव बोलाउने अनि कामको नभएर निर्देशनको सरुवा, बढुवा गर्ने । त्योभन्दा मुनि हजारौं संख्यामा रहेका सरकारी अधिकारी, कार्यालय सहयोगी, चालक अनि मालीसम्मलाई निजामती ऐनले ट्रेड युनियनको राजनीतिक अधिकार दिएको छ । त्यो शक्तिलाई कसैको निर्देशन मान्नुपर्ने बाध्यता छैन । बरु उस्तै परे मन्त्री र सचिव पजनीको हैसियत बोकेर उनीहरू बसेका छन् । मन्त्रीहरूको साँचो सल्लाहकारको भूमिका तिनै खरिदार, मुखियाले निभाइरहेका हुन्छन् ।

स्वकीय सचिवको जिम्मेवारी चालक र घरमा भात पकाउने भान्सेले धानिरहेका हुन्छन् । ठूला मानिसका घरको पूmल गोड्ने माली पनि करोडौंको डिलमा व्यस्त हुन्छन । एक लिटर पेट्रोल सित्तै पाउन ग्राहक खोज्नेहरू शक्तिकेन्द्रको निकट पुग्नासाथ रातारात आयल निगम निजीकरण गर्ने तानाबाना बुन्न थाल्छन् । नयाँ जनप्रतिनिधिको चयनपछि यो क्रम गाउँपालिकासम्म पुग्ने खतरा बढेको छ । यदि यस्तो नहुँदो हो त राजनीति र अपराध उहिल्यै छुट्टिनु पथ्र्यो । राजनीतिक नेतृत्व भन्छ– स्थानीय तहको चुनावपछि सिंहदरबारको अधिकार गाउँ पुग्यो । तर सिंहदरबारभित्रको कर्मचारीतन्त्र भन्छ– हामी गाउँको सिंहदरबार चिन्दैनौं । यहाँ काम हैन, निर्देशन र बैठक यति प्रभावकारी हुने गरेका छन् कि तिनीहरूले तल्लो तहसम्म दर्जनौं निर्देशन र बैठकको आमन्त्रण गर्छन् । यदि निर्देशन पालना गर्न बैठक बस्यो भने त्यसले समस्याका यस्ता पहाड खडा गरिदिन्छ कि एजेण्डा नै अलपत्र पर्छ । त्यसो त बैठक र निर्देशन पालना नहुनुको कारण खोज्न बैठक डाक्ने आँट कसैले गर्दैन । मुलुकका ६ दर्जन बढी ठाउँमा प्रधानमन्त्री पदेन रहने व्यवस्था छ । ती सवै ठाउँमा प्रधानमन्त्रीले दिने भनेको अन्ततः निर्देशन नै हो । संसद्का समितिहरूले सरकारलाई दिएका निर्देशनको चाङले सरकार नै पुरिने स्थिति छ । विकास, सुशासन, कृषि, उद्योग, पर्यटन, सुरक्षाका नाममा सरकारी अधिकारीले दिने निर्देशन र बैठक त उल्लेख गरेर साध्य हुन्न ।

चिनेको भन्दा किनेको प्रभावकारी हुनु देश ओरालो लाग्नु पछाडिको प्रमुख कारण हो । हरेक पद लिलाम बढाबढमा चढाइन्छ । जब लिलाममा उछिनेर गएको मानिसले पद पाउँछ भने त्यसले बनाइदिएको समृद्ध देशको नागरिक भएर बाँच्न पाउँला भन्ने सोच्नु नै गलत हो । अरू त अरू स्थायी सरकारका सारथी मुख्य सचिवहरूको इतिहास हेर्नुस् न, आपूmले आफ्नैलागि आफ्नै हस्ताक्षरमा निर्णय गराएर फाइदाको पदमा उडान भर्ने कस्तो प्रवृत्ति ? लोकमानसिंह कार्की, भोजराज घिमिरे, लीलामणि पौडेल हुँदै सोमलाल सुवेदीसम्म आइपुग्दा को भन्दा को कम देखिए !

आखिर समस्याको चुरो राजनीतिक नेतृत्वमा गएर ठोकिन्छ । जुनबेला जनताभन्दा कार्यकर्ता र देशभन्दा पार्टी ठूलो भन्ने निश्कर्ष निस्कन्छ, त्यसपछि निर्देशन र बैठकको औचित्य समाप्त हुन्छ । सम्भवतः एउटा खाल्डो पुर्न प्रधानमन्त्रीले दिएको निर्देशन एक हप्ता बित्दा पनि बतास नलाग्नु पछाडिको तीतोसत्य पनि यही हो ।


प्रतिक्रिया दिनुहोस !