केशव स्थापितले भन्नुभएको ‘भूतले खाजा खाने बेला’ आएकै हो ?

केशव स्थापितले भन्नुभएको ‘भूतले खाजा खाने बेला’ आएकै हो ?

एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीले हिजोदेखि बाग्मती प्रदेश सभामा औपचारिक मान्यता पाएको छ । मान्यता पाएलगत्तै एकीकृत समाजवादीले अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सत्तारुढ दल विभाजन भएमा मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । शाक्य नेतृत्वको सरकार गठनलगत्तै एमाले विभाजन भएको हो । तर,सबै परिदृश्य स्पष्ट हुँदाहुँदै पनि मुख्यमन्त्रीले गत बिहीबार मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ । शुक्रबार प्रदेश नीति तथा योजना आयोगमा सदस्यहरु समेत मनोनित गर्नुभएको छ ।

विश्वासको मत नलिँदै ३० दिनभित्र सरकारबाट च्युत हुने निश्चित हुँदाहुँदै मन्त्रिमण्डल बिस्तार गरेको विषयलाई स्वयम् एमाले सभासद् तथा पूर्वमन्त्री केशव स्थापितले ‘भूतले खाजा खाने बेला’ भनी टिप्पणी गर्नुभएको थियो ।

संवैधानिक र कानुनी हिसाबले समेत मेल नखाएको तिकडमको विषयलाई स्वयम् एमालेभित्र पनि रुचाइएको छैन । निष्ठाको राजनीतिमा जीवन समर्पण गर्दै आउनुभएकी शाक्यले एकाएक एमाले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको साथ छाडेर बालकोटको आश्वासनमा फस्दा बचेखुचेको राजनीतिक साख ३० दिनमा धुलिसात हुन लागेको अर्को पक्षको भनाइ छ ।

एमालेभित्र झाँगिएको गुटगत राजनीतिले राजनीतिक नेतृत्वको हुर्मत् क्षणभरमा स्वाहा हुन लागेको बाग्मतीकी नयाँ मुख्यमन्त्री शाक्यको पछिल्लो अवस्थाले स्पष्ट पारेको छ । हिजो आइतबार निर्वाचन कार्यालयले नेकपा एकीकृत समाजवादीलाई औपचारिकता दिएलगत्तै उहाँको सरकार नराम्रोसँग हल्लिएको छ ।

बाग्मती प्रदेशसभामा एकीकृत समाजवादीले संसद बैठक आह्वानको लागि समावेदन गर्ने तयारी छ । दशकौंको निष्ठाको राजनीति छाडेर एकाएक अन्तिम घडीको आश्वासनमा विश्वास गर्नुभएकी शाक्यको सामु अब तीन वटा मात्र विकल्प देखिन्छ । तर ती सबै विकल्पले उहाँलाई सत्ताच्यूतबाहेक अरु गराउने देखिँदैन ।

उहाँले अब सबैभन्दा पहिले विश्वासको मत लिनुपर्ने हुन्छ । तर सरकार स्पष्ट अल्पमतमा परिसकेकाले उहाँले आवश्यक ५५ जनाको विश्वासको मत पाउनसक्ने अवस्था नै छैन । अन्यथा,अविश्वास प्रस्ताव दर्ता हुने निश्चित छ,त्यस्तो बेलामा पनि उहाँको बिरुद्ध स्पष्टसँग ५६ मतभन्दा बढी हुने संसदीय अंकगणित बनिसकेको छ ।

अन्तिम विकल्प उहाँले राजीनामा दिने हो । त्यसो गर्दा पनि कुर्सी जोगिने अवस्था हुने छैन । यी सबै यथार्थ सामु गत बिहीबार हेटौंडामा केही माननीयले दौरा सुरुवाल लगाउँदै मन्त्री बन्न दौडेको दृश्यले सबैलाई चकित तुल्याएको हो । त्यहि यथार्थलाई माननीय स्थापितले ‘भूतले खाजा खाने समय’ भन्नुभएको अहिले चरितार्थ हुन लागेको बताइन्छ ।

टिप्पणीहरू