नेम्वाङको प्रश्नमा प्रधानमन्त्रीको जवाफ,‘ओलीजीलाई सोध्नु’

नेम्वाङको प्रश्नमा प्रधानमन्त्रीको जवाफ,‘ओलीजीलाई सोध्नु’

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक सुचारु गराउन अझै पहल नगरेको भन्दै सत्तापक्ष र सभामुख दुवैप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

पूर्वसभामुख समेत रहनुभएका उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद अवरुद्ध पार्नु परेको स्पष्ट पार्दै त्यो स्थिति कहिलेसम्म अन्त्य हुन्छ ? भनी प्रश्न गर्नुभएको हो ।

आइतबार संसद भवन परिसरमा उहाँले संसद अवरुध्द भइरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ ? भनेर सरकारलाई प्रश्न गरिदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।

उपनेता नेम्वाङले माधवकुमार नेपालसहित आफ्नो पार्टीले निश्कासन गरेका १४ जना सांसदको सूचना संसद सचिवालयमा टाँस नगरुञ्जेल अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन नसक्ने पार्टीको अडानसमेत दोहोर्याउनु भएको थियो ।

यता,प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सुचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को भएको बताउनु भएको छ ।

संसद बैठक लगातार अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै संसद बैठक सुचारु कहिले हुन्छ ? भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह गर्नुभयो ।

सञ्चारकर्मीहरुले ‘प्रधानमन्त्रीज्यू, यसरी कति दिन संसद चलाउन हुन्छ ?’ भनी प्रश्न गरेका थिए । उहाँले त्यसको जवाफ दिँदै संक्षेपमा भन्नुभयो, ‘ओलीजीलाई सोध्नु ।’

एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निश्कासन गरेका सांसदलाई संसद बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिँदै आएको छ । आइतबारको बैठक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ २९ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

टिप्पणीहरू