कति केटी चाख्छौ कर्साब ?

इलाम सदरमुकामस्थित कालीध्वज पल्टनमा दुई वर्षदेखि प्रकाशराज लामिछाने गणपति छन् । आफूलाई रथी बालानन्द शर्माको भाञ्जा र वर्तमान सेनापतिको मन पर्ने अफिसरका रूपमा चिनाउने गरेका छन् । गणपति भएदेखि नै पैसा कमाउन र तरुनी घुमाउनमा व्यस्त छन् । जवानको रासनपानी र पीरमर्कामा कुनै चासो छैन । श्रीमतीलाई पाउडर, सेम्पु, क्रिम, साबुन पल्टनकै रकमले खरिद गर्छन् ।

निजी फण्डबाट झापादेखि २१ बाहिनीपति सीताराम खड्कासहित तरुनी मिलाउने दलालहरुलाई फिक्कल बजार बोलाएर महिनामा एकपटक पार्टी गर्छन् । गणपति बंगला खर्च भन्दै बिल पेस गरी खल्ती भर्छन् र सुवेदार मेजरलाई हिसाब मिलाउन आदेश दिन्छन् । पल्टनमा जम्मा भएको पेट्रोल पनि इलामबजारको पेट्रोलपम्पबाट महिनैपिच्छे आफैँ भुक्तानी लिन्छन् । सिपाहीलाई नोकरसरी काम गराएर जंगीअड्डाले दिएको निर्माण रकम आधा आफैँ गोजी भर्छन् । चर्काे घाममा काम गर्ने सिपाहीलाई खाजा खुवाउनसमेत आनाकानी गर्छन् । पल्टनको निजी फण्डबाट सकल दर्जालाई खरिद गर्ने सामानमा कमिसन खान्छन् । रासन ठेकेदारबाट मासिक रुपमै पैसा असुल्छन् ।

बिर्तामोडका व्यापारीहरूको च्यानलमार्फत हरेक महिनामा फरक–फरक केटीसँग फिक्कल बजारभन्दा उत्तरतर्फ पशुपतिनगर जाने चोकनजिकको होटलमा दिनभर रमाइलो गर्छन् । केटीहरूलाई जागिर लगाइदिने प्रलोभन देखाउँदै पल्टनमै पनि बोलाउँछन् । उनीहरूका अगाडि हामीलाई गाली गरेर बहादुरी देखाउँछन् । मोजमस्ती गर्ने दिन पल्टनबाट बिहान एक्लै निस्कन्छन्, बीच बाटोबाट केटीहरुलाई गाडीमा हाल्छन् र राति १० बजेतिर फर्कन्छन् ।

कर्णेल भए पनि पदीय मर्यादाको ख्याल गर्दैनन् । बर्दी लगाएर सेनाकै बद्नामी गर्दै हिँड्छन् । निजी फण्डबाट चियापत्ती र ढाका किनेर जंगीअड्डा पठाउँछन् । यस्ता कर्णेललाई गणपति भन्न पनि लाज लाग्ने भइसक्यो ।

– सकल दर्जा, कालीध्वज गण, इलाम

टिप्पणीहरू