सरकारी गाडी, सरर सवारी

सरकारी गाडी, सरर सवारी

सबैभन्दा सजिलो र भरपर्दो जागिर सरकारी हो । काम गरुञ्जेल तलबभत्ता पाइने, रिटायर भइसकेपछि पनि पेन्सन आउने । निलम्बित वा बर्खास्त भए पनि तलब पाक्ने । कोभिडको महामारी मुलुकभर फैलियो । सरकारले लकडाउन गर्दा सरकारी कर्मचारीलाई छुट्टी मनाएजत्तिकै भयो । नेपालमा कुन–कुन पदमा बस्ने कर्मचारीले सरकारी गाडी प्रयोग गर्न पाउने हो ?

१५ रुपैयाँले पुग्ने बाटोमा ३ करोडको गाडी । प्रोजेक्ट खुल्नासाथ पहिलो काम गाडी खरिद । सार्वजनिक यातायात चढ्न लाज लाग्ने । अहिले एउटा जनताको टाउकोमा विदेशी ऋण ५८ हजार छ । करारमा जागिर खानेहरूकै आवश्यकता सरकारले पूरा गर्न नसक्ने भइसक्यो ।

त्यसमाथि सरकारी कर्मचारीलाई छुट्टै चाडपर्व पेश्की । सरकारी कर्मचारीले मासिक तलब पाउँछन् । अनि रोग लागे उपचार गर्न छुट पाउँछन् । सरकारी कर्मचारीले काममा हेलचक््रयाइँ गर्नुको प्रमुख कारण पनि यही हो । काम गरेनगरेको कसैले निगरानी राख्दैन । एउटा व्यक्तिले सरकारी जागिर खाएको अवधिभर कति सम्पत्ति जोड्छ ! त्यसको लेखाजोखा छ ? गाडीदेखि चालक, पेट्रोल खर्च सबै जनताले व्यहोर्छन् । मर्मत खर्च राज्यको ढुकुटीबाट ।

भन्छन् नि जसको नुन खाइन्छ ऊसँगको व्यवहार इमान्दारितापूर्ण हुनुपर्छ । तर, सरकारी कर्मचारीले जनतासँग गर्ने व्यवहार ठ्याक्कै उल्टो छ । सरकारी गाडीको प्रयोग बिदाको दिन पनि हुँदा अनुगमन गर्ने कसले ?

आफन्तलाई गाडी सिकाउन सरकारी गाडी प्रयोग हुने देश नेपाल नै हो । परिवारको एउटा सदस्यले सरकारी जागिर खाएको हुनुपर्छ । पूरै आफन्तलाई जागिर खोज्न कतै जानु पर्दैन । २० लिटर पेट्रोल हालेर ५० लिटरको बिल पेश । मर्मत खर्च २० हजार भए ६० हजारको बिल । जनताले तिरेको करको दुरुपयोग ? गाडी किनेबापत अटो शोरुमले कर्मचारीलाई कमिसन दिन्छन् भन्ने पनि सुन्नमा आएको छ । त्यसैले नयाँ गाडी किन्दै, दुई महिना नपुग्दै बिगार्दै थन्क्याउने काम भइरहेको छ । सरकारी कार्यालयकै नयाँ नयाँ गाडीमा घाँस उम्रेर बसेको छ । के यो जनताले तिरेको करको दुरूपयोग होइन ? कोही बिरामी भएर बाटोमा शिथिल अवस्थामा गाडी कुरिरहेको हुन्छ । तर त्यही बाटो सयौं सरकारी गाडी ओहोरदोहोर गर्छ । कसैले त्यो शिथिल बिरामीलाई लिफ्ट दिँदैन । बरु खाली जान्छ । मानवता भनेको यही हो ?

तर, आफ्नो घरपरिवार बिरामी भयो भने सरकारी गाडी २४ घण्टा उपलब्ध हुन्छ । राजनीतिक दल पनि सरकारी कर्मचारीभन्दा केही कम छैनन् । एउटा राजनीतिक नेताको अगाडि र पछाडि कति सुरक्षाकर्मी खटिएका छन् ?

टिप्पणीहरू