एमाले छोड्न चाहने सांसदलाई तत्काल केही नगर्न सर्वोच्चको आदेश

एमाले छोड्न चाहने सांसदलाई तत्काल केही नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) मा लाग्न चाहेका सांसदहरुलाई तत्काल कुनै कारवाही नगर्न विपक्षीका नाममा आदेश दिएको छ ।

एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृतमा लाग्न पाउँ भन्दै सांसदहरु सोमप्रसाद पाण्डे र शारदा भट्टले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै आज न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गतेसम्मलाई दुबैमाथि कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । साथै सोही दिन दुवै पक्षलाई छलफलमा झिकाउन पनि आदेशमा भनिएको छ ।

एमालेबाट बिद्रोह गरी माधव नेपालको नेतृत्वमा दल दर्ताका लागि शुरुमा निर्वाचन आयोगमा दिएको निवेदनमा नाम छुटेका पाण्डे र भट्टले पछि सनाखत गर्न पुगेका थिए । तर,शुरुको निवेदनमा नाम नभएको भन्दै आयोगले सनाखत गराउन अस्वीकार गरेको थियो।

त्यसपछि नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराउन माग गर्दै उनीहरु रिट लिएर सर्वोच्च पुगेका हुन् ।

टिप्पणीहरू