नेकपा एमालेमा १० बुँदे कार्यान्वयन भएन, सुदूरपश्चिमको इञ्चार्जमा लेखराज यथावत

नेकपा एमालेमा १० बुँदे कार्यान्वयन भएन, सुदूरपश्चिमको इञ्चार्जमा लेखराज यथावत

नेकपा एमालेमा १० बुँदे सम्झौता कार्यान्वयनलाई लिएर खटपट शुरु भएको छ । अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा पूर्वमाओवादी नेता लेखराज भट्टलाई नै निरन्तरता दिने बताएपछि संस्थापन र तेस्रो धारबीच खटपट देखिएको हो ।

सुदूरपश्चिमको जिम्मेवारीलाई लिएर भट्ट र रावलबीच विवाद बढेपछि आज बालकोटमा छलफल भएको थियो । उक्त छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेशको जिम्मेवारी हेरफेर नहुने भन्दै भट्ट नै सुदूरपश्चिमको इञ्चार्ज हुने प्रष्ट बताउनु भएको हो । जनाइएअनुसार ओली पक्षका नेताहरुले अप्ठेरो अवस्थामा पार्टीको पक्षमा उभिएको भन्दै अहिले भट्टको जिम्मेवारी खोस्न नहुनेमा जोड दिएका थिए ।

छलफलमा सहभागी एक नेताका अनुसार रावलले भने १० बुँदे सहमति स्मरण गराउंदै जेठ २ को संगठन क्रियाशील हुँदा आफू इञ्चार्ज हुनुपर्ने माग गर्नुभएको थियो । ओलीले भने हुबहु जेठ २ मा फर्किन नसकिने प्रष्ट पार्दै सबैतिर सबै नेताका जिम्मेवारी हेरफेर नहुने बताउनुभयो । जेठ २ कार्यान्वयनको लागि उपाध्यक्षको हैसियतमा रावललाई संयोजनकारी भूमिका खेल्न पनि ओलीले आग्रह गर्नुभएको बताइन्छ ।

नेकपा एमाले जेठ २ मा फर्काउने १० बुँदे कार्यान्वयन हुँदा सुदूरपश्चिम इञ्चार्ज भीम रावल नै हुनुपर्ने हो । तर, अध्यक्ष ओलीले भट्टलाई च्यापेपछि रावल जिम्मेवारीविहीनको अवस्थामा पुग्नुभएको छ ।

नेकपाको एकता खारेज भई एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएपछि एमालेले भट्टलाई सुदूरपश्चिम इञ्चार्जको जिम्मेवारी दिएको थियो । त्यतिबेला रावल भने माधव नेपाल समूहमा हुनुहुन्थ्यो । नेपाल समूहले रावललाई नै सुदूरपश्चिमको इञ्चार्ज यथावत राखेको थियो ।

तर, पछिल्लो समय पार्टी एकताका लागि भन्दै रावलसहितका दोस्रो पुस्ताका नेताहरु १० बुँदेलाई मानेर एमालेमै बसेका थिए भने माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गर्नुभएको छ ।

पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीले स्वीकार गरिसकेको १० बुँदे कार्यान्वयनमा उदासीनता देखाएर अध्यक्ष ओली एक्लै हिँड्न खोजेको भन्दै तत्कालीन माधव समूहका एक नेताले असन्तुष्टि जनाएका छन् । पार्टी एकताको पक्षमा उभिने आफूहरुको इमान्दार प्रयासलाई कमजोरी ठानिएको उनको गुनासो छ ।

टिप्पणीहरू