२९ गतेसम्म कारबाही नगर्न एमालेलाई सर्वोच्चको आदेश

२९ गतेसम्म कारबाही नगर्न एमालेलाई सर्वोच्चको आदेश

नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न खोजेका दुई जना सांसदलाई तत्काल कारबाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले दुबै पक्षलाई भदौ २९ गते उपस्थित हुन आदेश दिएको हो ।

एमालेको तर्फबाट पाल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद सोम प्रसाद पाण्डे र राष्ट्रिय सभाकी सांसद शारदा देवी भट्टलाई २९ गतेसम्म एमालेले कारबाही गर्न नपाउने भएको छ । न्यायाधीश मिरा खड्काको एकल इजलासले उक्त आदेश गरेको हो ।

पाण्डे र भट्टविरुद्धको मुद्दामा आदेश एमालेको पक्षमा आए तुरुत्तै कारबाही गरेर हटाउने तयारी एमालेको रहेको बताइन्छ । तर एमालेको तयारी विपरीत सर्वोच्च अदालतले दुवै पक्षलाई २९ गते छलफलमा सहभागी हुन आदेश जारी गरिदिएको हो ।

उता कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमले सरकारविरुद्ध दायर गर्नुभएको मुद्दा आज पनि सरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र कुमार रेग्मीको संयुक्त इजलासले हेर्ने भनिएको मुद्दा आज हेर्न नभ्याइएको बताइको छ ।

यसअघि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले गौतमलाई हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश दिएको थियो ।

टिप्पणीहरू