गृहमन्त्रीकै गृहनगरमा रहस्यमय मृत्यु, मृतकका श्रीमान र आमाजु प्रहरी हिरासतमा

गृहमन्त्रीकै गृहनगरमा रहस्यमय मृत्यु, मृतकका श्रीमान र आमाजु प्रहरी हिरासतमा

गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमामा केही दिन अघि एक महिलाको रहस्यमय तरिकाले मृत्यु भएको छ । दुई वर्ष अघि मात्र विवाह बन्धनमा बाँधिएकी तिलोत्तमा नगरपालिका ८ मणिग्रामस्थित ४ नम्बर टोल माइती घर भएकी २७ वर्षीया सीता भण्डारी पौड्यालको आफ्नै घरमा रहस्यमय मृत्यु भएको घटना सार्वजनिक भएको हो ।

सोही नगरपालिका–५ घर भएका ४३ वर्षीय टीका पौड्यालकी श्रीमती सीताको आफ्नै घरको कोठामा मृत्यु भएको घटना तीजअघि पत्रकार सम्मेलन गरि बाहिर ल्याएका हुन् । हिन्दु नारीहरुको पर्व तीज मानेर असोज ६ गते घर फर्किने गरी माइत पुगेकी उनलाई श्रीमान टीकाले भदौ १९ गते भतिजको बर्थडे छ ‘तिमी घर जाउ, म पनि साँझ घर आउँछु’ भनेर पाल्पाबाट बोलाएको माइती पक्षले बताएको छ ।

श्रीमानको फोन आए लगत्तै सीता घर फर्केको र माइतबाट घर पुग्दासम्म आफूहरुले राती ९ बजेसम्म छोरीलाई फोन गरेको तर नउठेको उनीहरुको भनाई छ । अर्को दिन माइतीलाई काम छ भनेर टीकाको घरबाट बोलाइएको र त्यहाँ पुग्दा मुहार रक्ताम्मे अवस्थामा सीताको मृत्यु भइसकेको माइतीपक्षले बताएको छ ।

मृतक सीताका बाबु हरिप्रसाद भण्डारीले छोरीको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय, बुटवलमा किटानी जाहेरी दिएका थिए । तर प्रहरीले किटानी जाहेरी लिन नमानेपछि माइती पक्षले बिरोध गरेको बुटवलका सञ्चारमाध्यमहरुले समेत जनाएका छन् ।

यता, प्रहरीले भने घटनालगत्तै जाहेरी लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार सीताले आत्महत्या गरेको बताउँदै माइती पक्षले दिएको जाहेरीका आधारमा मृतकका श्रीमान टीका र उनकी दिदी विष्णु पौडेललाई हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

घटनालाई नजिकबाट हेरिरहेका बुटवलका एक जना एक सञ्चारकर्मीका अनुसार श्रीमान श्रीमतीबीच कुनै समस्या नरहेको बताइए पनि श्रीमान टीकाको सीतासँग तेस्रो विवाह भएको खुलेको छ । पारिवारिक स्रोतलाई उद्धृत गर्दै ती सञ्चारकमीले भने, ‘सीता घर फर्केको दिन राति ११ बजेसम्म पति पत्नीबीच झगडा भएको र जेठानीले देवरानीलाई आफ्नै कोठामा सुत्न भनेकी थिइन् ।’

कतिपयले टीकाले लामो समयदेखि एक प्रकारको औषधिको सेवन गर्दै आएको आशंका गरेका छन् । मृतक सीता र टिकाले पाल्पामा ‘दि दरबार कटेज एण्ड रिसोर्ट’ समेत सञ्चालन गर्दै आएका थिए ।

टिप्पणीहरू