गद्दार भन्दैमा आफ्नो उचाइ बढ्छ गुरु ?

गद्दार भन्दैमा आफ्नो उचाइ बढ्छ गुरु ?

माधव नेपाल र झलनाथ खनालहरूले आफ्नो सिंगो राजनीतिक जीवनलाई दाउमा लगाए र नयाँ पार्टी निर्माण गरे । यो कदम खासै ठूलो नलाग्ला बाहिरका मान्छेहरूलाई तर यो असाधारण र असामान्य कदम हो । तर, माधव, झलनाथको यो कदमलाई एमाले अध्यक्षले नुहाउँदा झर्ने कपाल÷रुखबाट झरेको पातको संज्ञा दिएका छन् र एमालेको ठूलो हिस्साले अध्यक्षकै बोलीमा लोली मिलाइरहेको देखिन्छ । माधव–झलनाथहरूको टिमको यो कदम एमालेले भनेको जस्तै हो त ? यस्तो गम्भीर राजनीतिक निर्णय लिने काम बिनाकुनै कारण वा अरुको इशारामा माधव–झलनाथहरूले गरे होलान् त ? उहाँहरू एमालेबाट छुट्टिनुमा आफूहरूबाट के कस्ता कमी–कमजोरी भएका रहेछन् र उनीहरू स्वयं कति जिम्मेवार होलान् भन्नेबारेमा एमालेले समीक्षा गरेर पाठ सिक्ने र यदि गल्ती भएको रहेछ भने सच्याएर अघि बढ्ने काम गर्ला कि उही पुरानै ०५४ सालको प्रदीप नेपाल शैली अपनाएर टुँडिखेलबाट विभिन्न फत्तुर लगाउने बाटो रोज्ला ? किनभने यो कुराले भोलिको दिनमा कस्तो सम्बन्ध बन्ला भन्ने कुरा तय गर्छ ।

राजनीतिमा केही कुरा सार्वजनिक उपभोगको निम्ति भन्नैपर्ने हुन्छ अर्थात् कतिपय कुरा रेटोरिकल हुन्छन् । माधव नेपालले मलाई अघि लगाएर म धेरै अघि पुगिसकेपछि छोडेर हिँडे भनेको कुरा पब्लिक कन्जम्सनको निम्ति थियो । तर माधव नेपालकै जोडमा विभिन्न पद तथा सुविधा उपभोग गरेकाहरूले उनलाई मुखभरिको जवाफ फर्काए । ती महानुभावप्रति जनतामा परेको छाप त्यहिनै हो जुन कुरा माधव नेपालले भने । माधव नेपाललाई यो कुरा भन्नैपर्ने अवस्था थियोे, उनले भने । तर, मुखभरि जवाफ फर्काउनुपर्ने बाध्यता अरुलाई थिएन तथापि तिनले सारा मर्यादा नाघेर माधव नेपाललाई जवाफ फर्काए । जनताले देख्ने वा बुझ्ने भनेको त त्यही हो जो तिनले भन्छन् र जो तिनले गर्छन् । गुट, समूहमा भेला भएर जे भनेपनि तथा अन्य छलफलमा तिनले जे बोले वा गरे पनि त्यो जनताले जान्ने कुरा भएन । जनताले जान्ने भनेको त टेलिभिजनमा तिनले उफ्रिउफ्री कुर्लेको, कविता वाचन गरेको कुरा नै हो ।

माधव नेपालले युवालाई अध्यक्ष पद दिन तयार छु भनेको कुरालाई पनि केही मान्छेले खिसिट्युरी गरे । तर तिनले एमालेमा युवालाई नेतृत्व देऊ भनेर अहिलेसम्म चुँ गर्न सकेका छैनन् । मलाई लाग्छ ७० तिर पुगेपछि स्वतः रोल आउनेमा विश्वस्त भएरै चुप लागेको हुनुपर्छ । धेरै परसम्म सँगै हिँडेकाले त यसरी वचन लाउँछन् भने शुरुदेखि नै घचेटाघचेट गरेकाहरूले वचन लाउने कुरा ठीकै हो । तर के गाली गरेर समस्या समाधान होला र ? पार्टी मजबुत होला त ? एसमा जानबाट मान्छेहरूलाई रोक्न सकिएला त वा अब प्रदेशमा सरकार ढल्नबाट बचाउन सकिन्छ त? खोइ विचार, बुद्धि पु¥याएको ?

राजनीतिमा लाग्नेहरूका निम्ति सम्बन्धको कुनै अर्थ रहन्न भन्छन् भुक्तभोगीहरू । समर्थन नगर्दा वा नपाउँदाको दिन ऊ अर्कै भइसकेको हुन्छ । न स्थायी शत्रु, न स्थायी मित्र ! तर राजनीतिमा नैतिकताको भने ठूलो महŒव रहन्छ । तराईको गाउँका अल्लि पुराना सत्तरी नाघेका मान्छेहरू के भन्छन् भने एउटै समूहबाट डाँका मारेकाहरूले पनि सँगै डाँका मारेको कुराको गोपनीयता एकार्काको दुश्मन नै बने पनि अरुका सामु र खासगरेर पुलिसका सामु खोल्दैनन् रे । अर्थात् झोसपोल गर्दैनन्, यसलाई हिन्दीमा मुखबिरी भन्छन्, त्यो नैतिकता तिनले कायम राख्छन् । तर यहाँ त आफ्नो बचाउको निम्ति टेलिभिजनमा मिटिङको निर्णयका ढड्डै बोकेर देखापरे । यस्तो कार्य अशोभनीय त हो नै यसको अलावा यो गोपनीयताको घोर उल्लंघन पनि हो । यस्ताको विश्वास कसरी गर्ने ? आफ्नै ठानेकाले त यस्तो गर्छन् भने शुरुदेखि नै तँ तँ र म म गरेकाले नगर्ने कुरा भएन । तर, के यस्तो गरेर सम्बन्धमा सुधार ल्याउन सकिएला ? भोलि बाटोमा भेट हुँदा कमरेड भनेर दह्रोसँग हात मिलाउन सकिएला ?

पहिले एमाले विभाजन हुँदा प्रदिप नेपालले लगाएका विभिन्न आरोपबाट मुक्ति पाउन अहिलेसम्म पनि सकेका छैनन् केही कमरेडले । अहिले फेरि एकापसलाई नांगेझार पार्ने हरप्रयास भइरहेको छ । यसका लागि जागिरमा मान्छे राखिएको छ । कुनै समय एमबीले पुष्पलाललाई गद्दार भनेर पुस्तक नै छाप्नुभयो । तर, समयक्रममा एमबीको त्यो आरोप खारेज नै भयो, मिथ्या सावित भयो । तर, उहाँले लगाएको त्यो आरोप उहाँ स्वयंका लागि कालो धब्बाजस्तो भएको छ, हरपल पछ्याउँदै आइरहेको छ र इतिहासमा उहाँले त्यो गल्तीको सधैंभरि जवाफ दिइरहनुपर्ने छ । अहिले मिथ्या आरोप लाउनेहरूले पनि इतिहासको कुनै कालखण्डमा पछुताउनु पर्नेछ, जवाफ दिएर फुर्सद पाउने छैनन् । कसैले चाहेर पनि संसद् विघटन गलत थियो भन्ने कुरा इतिहासबाट कहिल्यै हटाउन सक्ने छैनन् । त्यसको मकसद के थियो भन्ने कुराको पनि छिनोफानो हुने नै छ र इतिहासमा माधव नेपाल गद्दार होइनन् र थिएनन् भन्ने कुरा नै लेखिनेछ । अझ त्योभन्दा पनि माथि उनले दलगत राजनीतिभन्दा उठेर संसद् र संविधानलाई जोगाउने काम गरे भनेर लेखिने सम्भावना प्रवल छ । त्यसकारण राजनीतिक संस्कार अँगाली, भद्रता र शालिनता प्रदर्शन गरेर असहमतिका स्वरहरू उराल्न सिकौं । के गद्दार करार गर्दा एमालेको उचाइ बढ्यो त ? अघि बढाएको भए फर्क भन्दा किन नफर्केको त भनेर ताना कस्दा मेलमिलापको वातावरण बन्यो त ? उतैकालाई अध्यक्ष बनाए भैगो नि भन्दा के एमालेका युवाहरूले नेतृत्व पाउने वातावरण बन्यो ? कांग्र्रेसले समेत गर्न नसक्ने गाली अहिले गरिँदै छ । यस्तो कामले कार्यकर्तालाई असहिष्णु बनाउनेछ, उग्र बनाउनेछ र अनादर गर्न हिम्मत प्रदान गर्नेछ । कृपया निहित स्वार्थको निम्ति निम्छरो बनेर जगत नहँसाउनुहोस् । मदन भण्डारीको अवसानपछि पनि एमाले चल्यो, शेरबहादुर देउवाको नेतृत्वमा पनि कांग्र्रेस चलेकै छ । झलनाथ–वामदेवबिना एमाले चल्छ र माधव नेपालले पनि एस मज्जाले चलाउन सक्छन् भन्ने कुरालाई ख्याल राख्दै मर्यादामा बस्ने हो भने इतिहासले लखेट्ने पात्र बन्नुपर्ने छैन । सल्लाह मान्ने÷नमान्ने यहाँहरूको विचार !

टिप्पणीहरू