ताप्लेजुङमा नेकपा एकीकृत समाजवादी गठन,काँग्रेस छाडेर एउटा टोली समाहित

-कमल भट्टराई

ताप्लेजुङमा नेकपा एमाले विभाजन हुँदैन भनेर व्यापक प्रचार भए पनि भदौ २० गते ९ जना जनप्रतिनिधिले निर्वाचन आयोग पुगेर नेकपा (एकीकृत समाजवादी) रोजेपछि शुरु भएको विभाजन जारी छ ।

२१ गते ५ जना र २२ गते थप ७ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) को पक्षमा रहेको घोषणा गर्दै निर्वाचन आयोग ताप्लेजुङमा सनाखत गर्दा जम्मा २१ जना जनप्रतिनिधिले एमाले छाडेको घोषणा गरियो ।

तर २२ गते जिल्ला समन्वय समिति सदस्य निमातेञ्जिङ शेर्पाले २० गते गरेको आफ्नो सनाखत फिर्ता लिन निवेदन दिएपछि २० जना भने आफ्नो निर्णयमा अडिग देखिएका छन् । जसमा जिल्ला समन्वय समितिका उपप्रमुख १, गाउँपालिका उपाध्यक्ष २, वडा अध्यक्ष ५, गाउँ कार्यपालिका सदस्य २, वडा सदस्यहरु १० जना गरी २० जना रहेका छन् ।

ताप्लेजुङमा नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी २०७८ हिजो घोषणा भएको छ । कमिटीमा अध्यक्ष छिरिङ लामा, उपाध्यक्ष दुर्गाहाङ चोङ्वाङ र मञ्जु भट्टराई,सचिव मोहन न्यौपाने, उपसचिव रक्की थेवेसहित ७२ जना छन् भने जिल्ला पार्टी कार्यालय समेत उद्घाटन गरिएको छ ।

सोही कार्यक्रममा मेरिङदेन १ ओख्राबुका नरेन्द्र आख्राबुसहितको समूह नेपाली काँग्रेस परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको छ । उनलाई एकीकृत समाजवादीका केन्द्रीय सदस्य,प्रदेश सांसद तथा जिल्ला कमिटी घोषणा र कार्यालय उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गणेश काम्बाङले स्वागत गर्नुभएको थियो ।

ताप्लेजुङमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा र जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै काम्बाङले हालको मुलुकको परिस्थिति, विभाजित हुनुपर्ने कारण, आफूहरुले एकताका लागि गरेका प्रयास, आगामी दिनमा पार्टीले खेल्ने भूमिका जस्ता विषयमा धारणा राख्दै वर्तमान अवस्थामा पार्टीको भविष्य उज्जवल रहेको बताउनुभएको छ ।

टिप्पणीहरू