१० बुँदेपछि एकालालको घटुवा, मुनुको बढुवा

१० बुँदेपछि एकालालको घटुवा, मुनुको बढुवा

१० बुँदे सहमति कार्यान्वयन गर्ने भन्दै नेकपा एमाले मकवानपुरको बैठक शनिवार हेटौंडामा भएको छ ।

पोलिट्ब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज काशिनाथ अधिकारीको उपस्थिति तथा २०७५ जेठ २ अघिका जिल्ला कमिटी उपाध्यक्ष बद्रिप्रसाद लम्सालको अध्यक्षतामा बैठक भएको हो । बैठकले लम्साललाई अध्यक्ष पदमा मनोनयन गरेको छ ।

तत्कालीन अध्यक्ष मुनु सिग्देल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्य भएपछि रिक्त पदमा उपाध्यक्ष लम्साल मनोनित हुनु भएको हो । उपाध्यक्षमा एमाले पूर्वसचिव गोपाल श्रेष्ठलाई चुनिएको छ ।

यसअघि ओली पक्षको जिल्ला अध्यक्ष भएर अघि बढेका एकालाल श्रेष्ठ जेठ २ अघिकै हैसियत अर्थात सचिवमा कायम भएका छन् । ओलीपक्षीय कमिटीका सचिव लालबहादुर थापा एक पद घटुवा भएर सह सचिव भएका छन् । उनी जेठ २ अघिको कमिटीका सचिवालय सदस्य थिए ।

शनिवारको बैठकपछि एमाले मकवानपुरमा तत्कालीन माधवकुमार नेपाल पक्षधर मानिएका लम्साल उदाएका छन् । दश बुँदे कार्यान्वयन गर्ने भन्दै सचिवालय सदस्य विष्णु ढकाल, मदन दाहाल,इश्वर ढुंगाना,इन्द्र नेपाल,आरती पाठकलगायत नेताहरु जिल्ला कमिटी बैठकमा सहभागी भएको बताइएको छ ।

पार्टीभित्र चरम अन्तरसंघर्ष र विवादपछि फुटसँगै मकवानपुर एमालेको अध्यक्ष रहनुभएकी मुनु फुटपछि निर्मित नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा बढुवा भएकी छन् भने समानान्तर गतिविधि गर्ने ओली पक्षका एकालाल श्रेष्ठको घटुवा भएको हो ।

टिप्पणीहरू