सँसदमा आज पनि मारमुङ्ग्रीको सम्भावना

सँसदमा आज पनि मारमुङ्ग्रीको सम्भावना

प्रतिनिधि सभाको नवौं अधिवेशनको तेश्रो बैठक आज बस्दैछ । आज सरकारको तर्फबाट झण्डै दर्जन अध्यादेश पेश हुने सम्भावित कार्यसूची रहेको छ ।

संघीय संसदको कार्यसूची अनुसार,१ बजेबाट बैठक प्रारम्भ हुने छ । बैठकमा ओली सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश ०७८,रेल्वे अध्यादेश ०७८,देउवा सरकारद्वारा प्रस्तुत राजनीतिक दलसम्बन्धी (दोश्रो संशोधन) अध्यादेश ०७८,सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश ०७८,नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्य सञ्चालन,सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश ०७८, तेजाब तथा अन्य घातक पदार्थ नियमन अध्यादेश,नेपाल नागरिकता (पहिलो संशोधन) २०७८ अध्यादेश,यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ०७८,औषधी (तेश्रो संशोधन) अध्यादेश ०७८,कोभिड संकट व्यवस्थापन अध्यादेश ०७८ लगायतका १२ वटा अध्यादेश पेश हुने कार्यसूची छ ।यी अध्यादेशउपर नेमकिपाका प्रेम सुवाल र जनमोर्चाकी दुर्गा पौडेलले अस्वीकारका लागि सूचना पेश गर्न निवेदन दिनुभएको छ ।

संसदमा आज पनि मुडभेड हुने सम्भावना छ । शुक्रवार सदनमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत बजेट पेश गर्ने क्रममा एमालेका सांसद र मर्यादापालकबीच झडप हुँदा कुर्सी भाँचिएको थियो भने एक जना मर्यादापालकलाई माननीयले पाखुरामा टोकेका थिए ।

आज पनि एमालेले दुवै हाउसमा अवरोध जारी राख्ने जनाएको छ ।

टिप्पणीहरू