सरकार विस्तार

मन्त्रिमण्डल विस्तार भनेको सडक विस्तार जस्तो सजिलो कामचाहिँ होइन रहेछ । सरकारलाई सडक विस्तार गर्न पो सजिलो छ । मन्त्रिमण्डल विस्तार गर्न कहाँ त्यस्तो सजिलो छ र ? सडक विस्तार गर्न केही गा¥हो छैन । राति डोजर पठाइदियो । डाङडुङ गरी सडक छेउको घर भत्काइहाल्छ । घरै नभएपछि घरधनीहरू जहाँ जानुपर्ने हो गइहाल्छन् । त्यसपछि बाटो खन्यो । पीच ग¥यो । सकियो । कोही कराउन आयो भने प्रहरी लगाइदियो । शनिबार अदालत बिदा परेको दिन शुक्रबारै घर भत्काइदियो । सकिइहाल्यो । केही गा¥हो छैन ।

यही शैली अपनाएर सरकारले कति वटा सडक विस्तार गरिसक्यो । तर सरकार भने एउटै पनि विस्तार गर्न सकिराख्या हैन । प्रधानमन्त्रीले सरकार बनाएकै दुई महिना भइसक्यो । तर विस्तार गर्न मुश्किल । सरकार विस्तारमा ढिलाई गर्नुभएन भनेर धेरैजना कराइसके । तर कराएर के गर्नु ! ढिलो भयो भन्दैमा डोजर चलाउनु भएन, पुलिस लगाउनु भएन । सडक जस्तो डोजर लगाएर विस्तार गर्न मिल्ने भए त अस्ति नै विस्तार भइसक्थ्यो होला । तर के गर्नु, यो सडकजस्तो सजिलो ठाउँ परेन ।

प्रधानमन्त्री देउवाले सरकार मात्रै विस्तार गर्न नसकेको होइन । आफ्नो पार्टीको केन्द्रीय समिति पनि विस्तार गर्न सक्नुभएको छैन । पार्टीमा पनि प्रमुख पदाधिकारी रहनुपर्ने पदहरू नै खाली छन् । सभापति छ, उपसभापति छैन । मन्त्री छ, महामन्त्री छैन । उहाँलाई मन्त्रिमण्डल मात्र होइन केन्द्रीय मण्डल विस्तारमा समेत सकस छ । अब हेरौं, यो सकसचाहिँ कसरी पुरिने हो !

टिप्पणीहरू