फेरि प्रचण्डपथ

सुनिन्छ, माओवादी केन्द्रले प्रचण्डपथ फेरि ब्युँझाउने रे ! शायद चुनाव हारेपछि माओवादीलाई पुनः प्रचण्डपथको याद आयो होला । कुनै जमाना थियो, माओवादीका सम्पूर्ण नेता, कार्यकर्ता प्रचण्डपथ भएर अघि बढ्ने गर्थे । तर अहिले स्थिति यस्तो आइदियो कि स्वयं प्रचण्ड नै प्रचण्डपथमा हिँडिरहनुभएको छैन । प्रचण्डपथ छोडेर अर्कै पथतिर हिँडिरहनुभएको छ । अब प्रचण्ड नै प्रचण्डपथमा नहिँडेपछि अरु को हिँड्ने ?

भर्खरै देखियो, काठमाडौंका पथहरू पूरा खाल्डै खाल्डोले भरिएका छन् । त्यही भएर जम्मै खाल्डो पुर्नु भन्ने आदेश प्रधानमन्त्रीबाट आएको छ । वास्तवमा काठमाडौंका पथहरूमा जति खाल्डा छन् त्योभन्दा बढी खाल्डा त प्रचण्डपथमा छ । त्यही भएर स्वयं प्रचण्डै पनि प्रचण्डपथबाट हिँडन चाहनुहुन्न । हिँडेर के गर्नु, कुनै खाल्डो भ्वाक्क खस्यो भने के होला ? प्रचण्डपथको खाल्डोमा प्रचण्ड नै खस्दा त यो ठूलै प्रतिष्ठाको विषय बन्न सक्छ । शायद धेरै खाल्डो भएको कारणले पनि होला, अहिले माओवादीका कुनै पनि कार्यकर्ता प्रचण्डपथबाट हिँड्न चाहँदैनन् ।

फेरि प्रचण्डपथ भनेको त्यति चौडा पथ पनि होइन । पहिले पहिले जंगलको बाटो हिँडेर जानलाई यो पथ बनाइएको थियो । अहिले त प्रचण्डज्यू गाडीबाट हिँड्नुहुन्छ । जबकि प्रचण्डपथमा गाडी छिर्दैन । अनि कसरी हिँड्नु प्रचण्डपथमा ? जसको अहिलेसम्म गाडी छैन, जो अहिलेसम्म खुट्टामा चप्पल लगाएर लुखुरलुखुर हिँडिरहन्छ, त्यस्तालाई मात्र काम लाग्छ प्रचण्डपथ । अहिले प्रचण्डपथ पुनः ब्युँताउने कुरो त निस्क्यो । तर यो पथ ब्युँझिहाले पनि यसमा हिँड्ने चाहिँ को होला ?

टिप्पणीहरू