“गद्दार” माधव नेपालको कारण एमालेको बेहाल : कृष्ण राई

“गद्दार” माधव नेपालको कारण एमालेको बेहाल : कृष्ण राई

एमालेले हिजो शनिबार राजधानीमा दुई वटा कार्यक्रम आयोजना गर्यो । एउटा एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चको विस्तारित भेला र अर्को काठमाडौं १५ को बिस्तारित भेला । दुबै कार्यक्रममा उपस्थित एमाले नेताहरुले पार्टी छाडेर गएका कमरेडहरुको उछित्तो काढेका छन् ।

स्वयम्भूमा आयोजित भेलामा एमाले काठमाडौं अध्यक्ष कृष्ण राईले माधव नेपालजस्ता गद्दार मान्छे जन्मेकाले पछिल्लो दिनमा एमालेको बेहाल भएको बताउनुभएको छ । उहाँले अगाडि भन्नुभएको छ, ‘पार्टी फुटाउनेहरूलाई केही भन्दैनौं,हामी कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खुट्टा टोक्दैनौं ।’

उहाँले हिजो बैरीहरूले मदन भण्डारीलाई देख्न नसकेजस्तै आज केपी ओलीलाई पनि देख्न नसकेको ठहर गर्नुभएको छ ।

उता, लतिपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा भएको एमाले सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले नेकपा एमालेसँग माओवादी केन्द्रको गठबन्धन हुनुको उद्देश्य बेलैमा नबुझेकाले पार्टी तहसनहस भएको बताउनुभएको छ ।

उहाँको भनाई छ, ‘माओवादीको रोडम्याप हामीले बुझेनौं । पार्टीमा देखिएको पछिल्लो उथलपुथलबाट एमालेको सिङ्गै शक्तिलाई प्रचण्डले निल्न खोजेको प्रष्ट भएको छ ।’

उहाँको भनाई छ, ‘प्रचण्डले नेकपाको नेतृत्व लिन नपाएपछि माधवसँग मिलेर पार्टी विभाजन गराइदिए । त्यसैले पार्टी बचाउन अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्नुभएको हो ।’

त्यसैगरी पूर्वमन्त्री गणेश पहाडीले माधवकुमार नेपालले विदेशी शक्तिको आड र नेपाली काँग्रेस तथा माओवादी केन्द्रको योजनामा पार्टी फोडेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, ‘आज हाम्रो पार्टी नेकपा एमालेलाई कमरेड नेपालले होटल,रेस्टुरेण्टमा बैठक गरेर विदेशी शक्तिको आडमा फोर्नुभएको हो ।’

कामनपा १५ वडा कमिटीको आयोजनामा स्वयम्भूमा भएको भेलामा बोल्दै काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले माधवकुमार नेपाललाई एमालेको भँडुवा र प्रधानमन्त्री शेरबहादुर देउवालाई काँग्रेसभित्रको भँडुवाको संज्ञा दिनुभएको छ ।

टिप्पणीहरू