भारततिर लैजाँदै गर्दा बोर्डरबाटै समातिए दुई महिला

भारततिर लैजाँदै गर्दा बोर्डरबाटै समातिए दुई महिला

जागिर मिलाइदिने प्रलोभनमा पारेर नेपाली किशोरीलाई भारत लैजान खोज्ने दुई जना समातिएका छन् । प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा सिरहाबाट दुई महिलालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढिमाई नगरपालिका–१ बाखैरकी ३५ वर्षीया उषादेवी मलाह रहेका छन् । दुई जना किशोरीलाई भारततर्फ बेचबिखनको लागि लैजाने क्रममा उनीहरुलाई प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नरहा नगरपालिका–३ चोहर्वाबाट समातेको हो ।

पीडक महिलाले किशोरीहरुलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाइदिने प्रलोभनमा पारी लहानसम्म पुर्याएका थिए । त्यसपछि लहानमाभन्दा जनकपुरमा राम्रो काम पाइन्छ भनी गाडी चढाई बीच बाटोबाटै नेपाल–भारत सीमा–नाका सिरहाको माडरतर्फ पुर्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार ती महिलाले किशोरीलाई बेचबिखनको लागि ओसारपसार गरेको अनुसन्धानका क्रममा समेत खुल्न आएको हो ।

पक्राउ परेका दुवैमाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । इलाका प्रहरी कार्यालय मिर्चैयाले जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनामा अन्य व्यक्तिसमेत संलग्न रहेको आशंकामा प्रहरीले उनीहरुको खोजी भइरहेको जानकारी दिएको छ ।

टिप्पणीहरू