एमाले केपीको निजी कम्पनीमा परिणत भएपछि नयाँ दल दर्ता गरिएको माधव नेपालको दाबी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बागमतीमा एमाले नेतृत्वको सरकारले निरन्तरता नपाउने बताउनुभएको छ । युवासंघ लुम्बिनी प्रदेशको भेला उद्घाटन गर्न नेपालगञ्ज पुग्नुभएका अध्यक्ष नेपालले बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार केही दिनमा ढल्ने र गठबन्धनको सरकार बन्ने उद्घोष गर्नुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भका कारण कम्युनिष्ट पार्टीले पाएको दुई तिहाई जनमत र संघ तथा प्रदेशका सरकारहरु असफल भएको पनि अध्यक्ष नेपालले बताउनुभयो ।
नेपालले मुलुकलाई अहित हुने कुनै पनि सन्धि सम्झौताको आफ्नो पार्टीले समर्थन नगर्ने पनि प्रष्ट पार्नुभयो । अमेरिकाले एमसीसी परियोजनामा कुनै पनि सैन्य रणनीति नगाँसिएको कुरा लिखित नगर्दासम्म स्वीकार गर्न नसकिने उहाँको भनाइ छ ।
नेपालले एमसीसीका प्रतिनिधिहरुसँगको भेटमा आफूले नेपाल स्वतन्त्र राज्य भएको र सुरक्षासँग उक्त परियोजना जोडिएको छ कि छैन भन्ने प्रश्न गरेको सुनाउनुभयो ।
नेकपा एमाले केपी ओलीको निजी कम्पनीमा परिणत भएपछि आफूहरुले एकीकृत समाजवादी गठन गर्नुपरेको पनि अध्यक्ष नेपालले दाबी गर्नुभएको छ ।
टिप्पणीहरू